भारतमा कृषक आन्दोलनले उग्र रुप लिँदै, २ सय किसान पक्राउ (फोटो फिचर)

भारतमा कृषकहरूको आन्दोलनले उग्र रूप लिएको छ।

मंगलबार भारतको ७२ औं गणतन्त्र दिवसको दिन नयाँ दिल्लीस्थित लालकिल्लामा किसानहरूले गरेको हिंसात्मक आन्दोलनका कारण राजधानी ठप्प भएको छ। 

किसानहरूले बुधबार पनि आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। मंगलबार भएको हिंसात्मक आन्दोलनविरूद्ध प्रहरीले दुई सय आन्दोलनकारीलाई पक्राउ गरेको छ भने २२ जनाविरूद्ध उजुरी दर्ता भएको छ। 

ट्रयाक्टरसहित लालकिल्लातर्फ बढेको किसानहरूको -याली एकाएक हिंसामा परिणत भएपछि प्रहरीलाई स्थिति नियन्त्रणमा ल्याउन हम्मेहम्मे परेको थियो। पछि गृहमन्त्री अमित शाहले आपतकालीन बैठक गर्दै दंगा नियन्त्रक दस्ता उतार्ने निर्णय गर्नुपरेको थियो।

हिंसात्मक आन्दोलनका कारण तीन सय प्रहरी घाइते भएका छन्। प्रहरीले घटनास्थलको सीसीटिभी फुटेज हेरेर हिंसामा आवद्ध आन्दोलनकारीलाई डकैती, लुटपाट र ज्यान मार्ने उद्देश्यले हमला गरेको तथा आपराधिक गतिविधिमा संलग्न भएको भन्दै उजुरी दर्ता गरेको हो।  

हिंसाको अध्ययनका लागि सरकारले ड्रोनबाट फुटेज पनि खिचेको थियो। केन्द्रीय पर्यटन मन्त्री प्रहलाद पटेलले हिंसा रोकिएपछि घटनास्थलको निरीक्षण गरेका थिए। प्रदर्शनकारीले लालकिल्लामा तोडफोड गर्नुका साथै धार्मिक झण्डा पनि फह¥याएका थिए। 

किसानको हिंसात्मक आन्दोलन रोक्न भारत सरकारले १५ बटालियन दंगा प्रहरीलाई घटनास्थलमा उतारेको थियो। भारतको गणतन्त्र दिवसमा हिंसा भएको यो पहिलो घटना हो। 

भारत सरकारले लागु गरेको किसान कानुनको विरोधमा विगत दुई महिनादेखि कृषकहरू आन्दोलनमा छन्। सरकारले जति नै आन्दोलन भएपनि आफूले ल्याएको कानुन फिर्ता नलिने घोषणा गरिसकेको छ।

प्रकाशित मिति: : 2021-01-27 14:49:00

प्रतिकृया दिनुहोस्