सिंहदबारबाहेक जहाँ पनि पुग्छन् प्रधानमन्त्री !

बाह्रखरी

काठमाडाैं

काठमाडौं । प्रधानमन्त्री केपी ओली सोमबार दाङको सिहनिया–गढवा जाड्ने पुलको उद्घाटन गर्न त्यहाँ पुगे । उनले भालुवाङमा भएको जनसभालाई सम्बोधन गरे । उनी त्यहाँबाट फर्किँदा केहीबेर भैरहवा विमानस्थलको अवलोकन गरे ।

त्यसबाहेक प्रधानमन्त्री ओली पछिल्लो समय काठमाडौंसहित जिल्लामा हुने धेरैजसो कार्यक्रममा पुगिरहेका छन् । तर पछिल्लो १० महिनायता मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार गएका छैनन् । तर पछिल्लो एक महिनायता ओली दैनिकजसो विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । 

उनी सिंहदरबार नगएको कार्यव्यस्तताले होइन कोरोनाको डरले हो ।  संसद् विघटनपछि ओली कोठे कार्यक्रममा मात्रै होइन आमसभामा पनि लगातार सहभागी हुन थालेका छन् ।  उनले मुलुक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै चलाइरहेका छन् ।

प्रधानमन्त्री ओली अन्तिमपटक गत चैत २० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार गएका थिए । चैत २० गते कोरोना भाइरसपछि उत्पन्न परिस्थितिका बारेमा सार्क राष्ट्र प्रमुखहरूबीच भिडिओ कन्फरेन्स भएको थियो ।  त्यसबाहेक ओलीले चैत २९ गते सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेन्स गरेका थिए । तर वैशाखयता प्रधानमन्त्री ओली सिंहदरबार गएका छैनन् । 

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई कोरोनाभाइरसको महामारीका कारण सिंहदरबारमा पहिलेभन्दा कम गएको बताउँछन् । उनले भने,“अब जानुहुन्छ ।” यसबाहेक उनी थप बोल्न खोजेनन् । प्रधानमन्त्री सिंहदरबार नजाँदा मन्त्रीहरु ‘रिपोर्टिङ’ गर्न निवासमै पुग्ने गरेका छन् । यसबाहेक प्रशासनिक कामका फाइल पनि प्रधानमन्त्रीको निवासमै पुर्‍याउने गरिएको छ ।

सिंहदरबार जान छाडेका प्रधानमन्त्री ओली संसद विघटनपछि देश दौडाहमा भने निकै सक्रिय छन् ।  उनी पूर्वदेखि पश्चिमसम्मका पार्टी कार्यक्रममा पुग्ने गरेका छन् । ओलीनिकटहरुले सिंहदरबारमा स्वास्थ्यका कारण नगएको दाबी गर्दै आएका छन् ।  स्वयम् ओली सरकारका मन्त्रीहरुलाई यो कुरा मन परेको छैन । एक मन्त्रीले प्रधानमन्त्री पनि दैनिक सिंहरदबारमा आएमा कार्य सञ्चालन सहज हुने बताउँछन् ।

प्रकाशित मिति: : 2021-01-26 15:17:00

प्रतिकृया दिनुहोस्