काठमाडाैं, माघ १० : चैत्यमाया डंगोल, पहिलो ब्याचकी प्रहरी महिला । उनीसँगै पहिलोपटक २५ जना महिलाले नेपाल प्रहरीको जागिर सुरु गरेका थिए । उनले देशमा प्रजातन्त्र आएसँगै १८ वर्षको उमेर (२००८ साल) मा प्रहरी सेवामा प्रवेश गरेर ०३९ मा राजीनामा दिइन् । उनी कसरी प्रहरी सेवामा प्रवेश गरिन् ? उनको समय र अनुभव कस्तो रह्यो ? यिनै विषयमा कुरा गर्न हामीले डंगोलसँग समय लिएका थियौँ ।
बुधबार उनी चावहिलस्थित आफ्नो घरमा घाम ताप्दै थिइन् । हामीलाई देख्नेबित्तिकै ८७ वर्षीया उनको मुहारका मुजाहरू फूलजस्तै फक्रिए, ‘तपाईंहरू आउनुहुन्छभनेर चाँडै खाना खाएर बसिरहेको ।’
नीलो धोती र रातो चौबन्दी चोलीमा सजिएकी उनको बोली र आँखामा कुनै जमानाको जागिरे जोस अर्थात् प्रहरीपन जिउँदो देखिन्थ्यो ।
१९९० जेठमा जन्मेकी डंगोलले १६ वर्षको उमेरमा केदार श्रेष्ठसँग प्रेमविवाह गरेकी हुन् ।
‘प्रेम–विवाह !’आफैँ रोमाञ्चक शब्द । परम्परागत समाजमा प्रेम–विवाह एक प्रकारको विद्रोह, अर्को प्रकारको अपराध पनि । आखिर उनले प्रहरीमा जागिर खान थाल्ने ताकाको सामाजिक चेतना नै साँगुरो थियो । उनी भन्छिन्, ‘मैले जागिर खाएको सुरु सुरुमा प्रेम–विवाह गरी भागेको उजुरी धेरै आउँथ्यो । चोरी, ज्यान केस, डकैती र ठगीको उजुरी भने निकै कम आउने गर्दथ्यो । त्यो बेला अहिले जस्तो अनेक खालका अपराध हुँदैनथ्यो । अहिले त कतिपय केस मतलबै नगर्ने पनि हुन्छ । ऊ बेला जनता प्रहरीसँग डराउँथे ।’