रातीको १० बजेको थियोहोला, पोखराको एक साथीले फोन गर्दै आफ्नो समस्या बताउनुभयो। रात परेकोले त्यही दिन भेट्न सम्भव भएन। तर भोलि भेट्ने वाचा गर्दै फोन अफ गरियो।
भोलिपल्ट भेट्यौ पनि। उहाँको समस्या रहेछ, आफ्नो नामको जग्गा आमाको नाममा नामसारी गर्नुपर्ने। यसबारे थप जानकारी लिन हामी अर्को दिन समय मिलाएर पूर्व गैरआवासीय नेपालीहरुको संस्था एनआरएनको ग्रीस शाखाका अध्यक्ष एवम् होटेल व्यवसायी कृष्ण पोखरेल (दाई)लाई भेट्न पुग्यौं।
उहाँलाई समस्या राख्ने क्रममा गम्भीरतापूर्वक सुन्नुभयो। यसपछि ग्रीस हेर्ने अस्ट्रियास्थित नेपाली दुतावासको जिम्मेवार अधिकारीलाई हाम्रो कुरा राखिदिनु भयो। उताबाट जवाफ आयो– जसको नाममा जग्गा छ, उसलाई स्वयम् दुतावासमा उपस्थित गराइदिनुहोला। दुतावासले यसबाहेक अन्य विकल्प नभएको बताए।
हामीले केहीबेर सम्झाउन खोज्यौं। सोध्यौ– के यो ग्रीसमा भएको काउन्सिलबाटै सम्भव छैनरु उताबाट जवाफ आयो– सम्भावना नै छैन। दुतावासको कुरा सुनेपछि निरास हुनुबाहेक हामीसँग अर्को विकल्प थिएन। किनभने ग्रीसमा अधिकांश नेपाली टर्की, ईरान, दुबई, सर्बिया हुँदै कोही पैदल यात्रा त कोही समुन्द्री मार्ग भएर शरणार्थीको कार्ड बनाएर बसेका छौं।
‘रिफ्युजी कार्ड’ अर्थात शरणार्थी भएर ग्रीसमा बस्नु पर्दा यही मात्र काम गर्न र घुम्न पाउने ब्यबस्था छ। यसैले हामीसँग अस्ट्रिया जाने कुनै सम्भावना थिएन। मेरो साथी १२ लाख रुपैयाँ तिरेर पैदल यहाँ आउनु भएको थियो। उहाँसँग न ग्रीस आउने भिसा थियो र कुनै कागजपत्र नै। वास्तवमा उनी ग्रीसमा काम गरिरहेका प्राय: नेपालीको प्रतिनिधि पात्र मात्र हुन्।
हामीसँग सबै तथ्यांक त छैन तर प्रत्येक वर्ष ३००–४०० नेपाली टर्की हुँदै ग्रीस छिर्ने गरेको अनुमान लगाउने गरिएको छ। ग्रीसलाई युरोप छिर्ने भर्याङको रुपमा प्रायःले प्रयोग गर्दै आइरहेका छन्। त्यसैले ग्रीसलाई युरोप छिर्ने भर्याङ पनि भन्ने गरिन्छ। लाखौं रुपैयाँ तिरेर मिठो सपना बोकेर यहाँ आएका नेपाली रातो पासपोर्ट र पिआर नपाएपछि डिप्रेसनको सिकार पनि भएका छन्।
यकिन तथ्यांक नभएपनि ग्रीसमा हालसम्म चार नेपालीको मृत्यु भइसकेको छ। जसमा हामीले एकजना साथीको मृत्य शरीर(शव) यहाँ बसोबास गर्ने दाजुभाईहरूको सहयोगमा नेपाल पठाउन सफल भएका थियौं।
तर,यतिगर्दा पनि हामीले सरकारबाट खासै सहयोग पाएका छैनौं। यहाँ आउँदा नेपालीहरूले अनगिन्ति दुःख र समस्या भोग्नु परेको छ। जिन्दगीको मिठो सपना बोकेर ज्यान जोखिममा पार्दै टर्की, दुबई, सर्बिया, इराक, इरानको बाटो हुँदै यहाँ लुकेर आउँदा समातिएको खण्डमा नेपालीहरूलाई डिपोर्ट गर्ने खतरा बढिरहन्छ। त्यसैले यी देशको समुन्द्री, थल तथा जङ्गलको बाटो हुँदै ग्रीस प्रवेश गर्दा केही नेपालीले आफ्नो पासपोर्ट दलाललाई दिने गर्छन भने केहीले बाटोमै फ्याकिदिन्छन्।
बाटोमा फ्याकेको पासपोर्ट भेटिने कुरा भएन। तर, दलालको हातमा परेको पासपोर्ट ग्रीस प्रवेशपछि लिन पुनः पैसाको बार्गेनिङ चल्ने गर्छ। यसरी बार्गेनिङ चल्दा ५००–१००० युरोसम्म तिर्नुपर्ने बाध्यता हुनजान्छ। यति ठूलो रकम तिर्नु सबैका लागि सम्भव हुँदैन। त्यसैले करिब ५०–६० प्रतिशत नेपालीसँग आजपनि पासपोर्ट छैन।
पहिले फ्रान्स दुतावासले पासपोर्ट बनाइदिने गर्दथ्यो रे। तर त्यतिबेला पनि पुलिस रिपोर्ट अनिवार्य माग्ने गरिन्थ्यो। हाल युरोपमा नेपालीहरुको बाक्लो उपस्थिति तथा अग्रजहरूका कारण दुतावासले गाह्रो परेका केही नेपालीलाई बिना कागजपत्र कसैको ग्यारेन्टीको आधारमा पासपोर्ट बनाइदिने गर्दथ्यो।
तर, अहिले सबै कुरा अस्ट्रियाको दुतावासले हेर्ने गर्छ। उसले नेपालीहरू गाह्रो अफ्ठेरोमा परेपनि पुलिस रिपोर्ट बिना कुनै काम गर्दैन। यसले ग्रीसमा ज्यान बाजी लगाएर आइपुगेका नेपालीहरूलाई थप मारमा पारेको छ।
अस्ट्रियास्थित नेपाली दुतावासमा निवेदन दियो भने पनि उसले पहिले पुलिस रिपोर्ट माग्छ। यदी कसैले पुलिस रिपोर्ट लिएर आएपनि सहजै उनीहरूलाई पासपोर्ट दिइँदैन। यसले ग्रीसमा बसेका प्रायः सबै नेपालीलाई दुविधामा पारेको छ। के हामीले
आफ्नो देश फर्किनलाई पनि पासपोर्ट नपाउने?
अन्त्यमा, नेपाल सरकारले ग्रीसमा बसोबास गर्दैआइरहेका नेपालीहरूको समस्या समाधानका लागि अग्रसरता देखाउन पटकपटक निर्देशन दिँदै आइरहेको छ। अस्ट्रियास्थित नेपाली दुतावासले धेरै देश हेर्नुपर्ने कारण उसले प्रत्येक देशमा १ जना काउन्सलर राखेको छ। म ग्रीस आएको ५ वर्ष बितिसकेको छ। तर, यसअवधिमा मैले मात्र होइन, म जस्ता थुप्रै नेपालीले काउन्सलरको अनुहार पनि देख्न पाएका छैनौं।
सरकारले किन ग्रीसमा बसेका हामी नेपालीहरूलाई सौताको व्यवहार गरिरहेको छ। यो बुझिनसक्नु छ। यसले हाम्रो चित्त दुःखेको छ। तरपनि हामी आवाज उठाउन भने छोड्ने छैनौं।
गुरुङ साहित्यिक चौतारी ग्रीस शाखा अध्यक्ष एवम् परोपकार युवा समाजका केन्द्रिय सल्लाहकार हुन्।