प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै निवेदन

बिएल संवाददाता

काठमाडाै‌ं

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै निवेदन परेको छ।

नेकपा (प्रचण्ड)का नेताहरु कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ लगायतले संवैधानिक इजलासमा निवेदन दिएका हुन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी थिइन्। तर त्यसको सूचना राजपत्रमा प्रकाशित भएकाे थिएन।

यसबारे वकिलहरुले प्रश्न उठाएपछि संसद विघटनको मुद्दामा सुनुवाइ गरिरहेको संवैधानिक इजलासले राजपत्र पेश गर्न निर्देशन दिएको थियो। त्यसपछि रातारात राजपत्रमा सूचना प्रकाशित गरेर गत शुक्रबारको इजलासमा पेश गरिएकाे थियाे।

आइतबार इजलास सुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले यसबारे प्रश्न उठाएका थिए। राजपत्र प्रकाशित गर्ने प्रक्रिया हुन्छ भन्दै उनले बोल्दा प्रधानन्यायाधीशले तपाईंको निवेदन यहीँ राखेका छौं। अहिले यो विषय प्रवेश नगरौं भनेर रोकेका थिए। 

प्रकाशित मिति: : 2021-01-24 12:40:00

प्रतिकृया दिनुहोस्