तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिए चिनियाँ अर्बपति ज्याक मा

बिएल संवाददाता

काठमाडाै‌ं

करिब तीन महिनापछि चिनियाँ अर्बपति ज्याक मा सार्वजनिक कार्यक्रममा देखिएका छन्। 

चिनियाँ सञ्‍चारमाध्यमले माले बुधबार १०० जना ग्रामीण शिक्षकहरुलाई सम्बोधन गरेको उल्लेख गरेका छन्।

चेचियाङ प्रान्तको तियान्मु न्युजलाई उद्धृत गर्दै चिनियाँ सञ्‍चारमाध्यमले गत अक्टोबर २४ पछि मा पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएको बताएका छन्। 

मा केही महिनादेखि सार्वजनिक रुपमा नदेखिएका कारण हराएको आशंका गरिएको थियाे। मा केही हप्ताअघि सम्पन्न ट्यालेन्ट सो ‘अफ्रिका बिजनेस हिरोज’ मा सहभागी हुने कार्यक्रम तय भएपनि उपस्थित भएनन्।

१५ लाख अमेरिकी डलर पुरस्कार रहेको उक्त सोको निर्णायकमा मा पनि रहने बताइएको थियो। पछि उक्त सोको वेबसाइटबाट उनको नाम र तस्बिर हटाइएको थियो।

गत अक्टोबर २४ मा सांघाईमा दिएको एउटा ‘विवादित’ अभिव्यक्तिपछि माको व्यावसायिक एन्ट ग्रुप चिनियाँ नियमनकारी निकायको निगरानीमा रहेको बताइएको छ। उनले भनेका थिए, ‘अहिलेको अर्थ व्यवस्था औद्योगिक युगको लिगेसी हो। हामीले नयाँ पुस्ता र युवाहरुका लागि नयाँ व्यवस्था खडा गर्नुपर्छ। हामीले वर्तमान प्रणालीमा सुधार ल्याउनुपर्छ।’

गत डिसेम्बरमा चिनियाँ अधिकारीहरुले एन्ट ग्रुपमाथि एकाधिकारविरुद्धको अनुसन्धान गर्दै कम्पनीलाई पुन:संरचना गर्न निर्देशन दिएको थियो।

सामाजिक सञ्जालमा अपडेट भइरहने माले अक्टोबर १० यता ट्वीट पनि गरेका छैनन्।
 

प्रकाशित मिति: : 2021-01-20 11:43:00

प्रतिकृया दिनुहोस्