‘यस्तालाई बाँच्न दिनुभन्दा त गोली ठोकेर मारिदिनु बेस !’
‘कस्तो खालकी केटी होली ?’
‘यो केटीले त देश नै डुबाउने भई !’
ठीक एक वर्षअघि यी र यस्तै प्रतिक्रियाहरूसँग लड्दै थिइन् प्रसिद्धि श्रेष्ठ ।
आफूले आफूलाई बुझ्नु र अरुले आफूलाई बुझ्नुमा कुनचाहिँ बढी महत्त्वपूर्ण होला, थाहा छैन ।
काठमाडौंकी २० वर्षीया प्रसिद्धि श्रेष्ठलाई आफूले आफूलाई बुझ्नुभन्दा महत्त्वपूर्ण अरुले आफूलाई बुझिदिनुमा लागेको थियो, त्यस दिन ।
फ्रान्सको स्यान्डफोर्ड कलेज पढ्दै गरेकी भियतनामकी सहपाठीलाई कोरोना भाइरस (कोभिड–१९) लागेको खबर उनले थाहा पाइन् ।
एउटै जहाजमा आएको साथी संक्रमित । कतै मलाई पनि सरेको त छैन ? प्रसिद्धि झस्किइन् । अनि परीक्षणका लागि नमुना दिन टेकु पुगिन् । नमुना दिएर उनी घरमै फर्किइन् ।
‘घर आएर आइसोलेसनमा बसेकी थिएँ । परीक्षणका लागि नमुना दिएको कति दिनपछि मात्रै रिपोर्ट आयो । आफू संयमित भएर टेकु अस्पताल पुगेकी थिएँ’, उनी त्यस दिनलाई सम्झन्छिन् ।
प्रसिद्धिले जे आशंका गरेकी थिइन्, त्यो गलत सावित होस् भन्ने मनमनै पुकार गरेकी थिइन् ।
तर, २३ मार्चको दिन । जे नहोस् भन्ने थियो, त्यही भयो । उनको शंका सही निस्कियो । कोरोना पोजिटिभ ! उनी अस्पताल नपुग्दै सञ्चारमाध्यममा अनेक समाचार छापिन थालिसकेका थिए ।
‘अब के होला ? के–के कुरा फेस गर्नुपर्ने हो ?’, उनको मनमा अनेक प्रश्नले प्रहार गर्न थालेको थियो ।
पोजिटिभ रिपोर्ट आएको दिन । कोरोनाभन्दा पनि कोरोना संक्रमण भएको समाचार मिडियामा कसरी आउँछ भन्ने चिन्ता र वैचेनीले उनको अधिकांश ध्यान मोबाइलको स्क्रिनमै बितेको थियो ।
जतिखेर पनि ‘न्युज फिड’ रिफ्रेस गरिरहेकी थिइन् उनी ।