जिल्लाको आदेश उल्टाउँदै उच्च अदालतले माग्यो डिएसपी ढुंगेलसँग एक लाख धरौटी

रवि धामी

काठमाडौं– जिल्ला अदालत काठमाडौंले गरेको आदेश उल्ट्याउँदै उच्च अदालत पाटनले प्रहरी नायव उपरिक्षक (डिएसपी) कुमोद ढुङ्गेललाई एक लाख धरौंटी माग गरेको छ ।

आपराधिक गतिविधीमा जोडिएपछि डिएसपी ढुङ्गेलविरुद्ध एक बर्ष अगाडी जिल्ला अदालत काठमाडौंमा लुटपाटको मुद्दा दर्ता भएको थियो।

उक्त मुद्दामा थुनछेक पछि जिल्ला न्यायधिश कोमलप्रसाद आर्चायले डिएसपी ढुङ्गेललाई साधारण तारेखमा छाड्ने आदेश दिएका थिए।

सरकारी वकिल कार्यलयले दर्ता गरेको १७ नम्बर निवेदनमाथि उच्च अदालत पाटनले जिल्लाको आदेश उल्टाउँदै एक लाख रुपैंया धरौटी माग गरेको हो।

‘प्रतिवादीलाई अहिले नै अपराधमा कसुरदार छैनन् भन्ने अवस्था मिसिल संलग्न कागजातबाट पुष्टि हुने आधार नभएको’ भन्दै उच्च अदालत पाटनले डिएसपी ढुङ्गेलसँग गत साता धरौटी माग गरेको छ।

जिल्ला अदालतले साधारण तारेखमा छाडेपछि डिएसपी ढुंगेलको निलम्बन फुकुवा भएको थियो। तर उच्च अदालतको आदेशले डिएसपी ढुङ्गेल पुनः निलम्बन हुने भएका छन्।

उच्च स्रोतका अनुसार डिएसपी ढुङ्गेल उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा छन् । तर प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) बसन्त कुवँरले भने उच्चको आदेश बारेमा जानकारी नभएको बताए।

सरकारी वकिलको कार्यालयबाट जानकारी आउनु पर्ने हो अहिलेसम्म नआएको प्रवक्ता कुवँरले बताए । उनले भने, ‘जिल्लाको आदेशविरुद्ध उच्च अदालतले धरौंटी माग गरेको तथ्य भए निलम्बन जारी रहन्छ।’

प्रकाशित मिति: : 2021-01-19 17:40:00

प्रतिकृया दिनुहोस्