म जुम्लाको भैलो हुँ। हरेक वर्ष यस्तै बेला आउँछु। मेरो नाममा जुम्लाले पुस्तौँदेखि भैलो खेल्दै आइरहेको छ।
अहिलेका जान्नेबुझ्नेको नजरमा जुम्ला राज्यका संस्थापक राजा बलिराजको पालादेखि भैलो खेलिँदै आएको छ। अर्थात मलाई पुगड्ने (भट्याउने) काम हुँदै आएको छ। कति ठाउँमा मलाई भस्सो पनि भन्छन्।
भैलोको इतिहासलाई कतिपयले युद्धसँग जोडेका छन्। उनीहरुका अनुसार त्यसबेला बलिराजलाई युद्धको सामग्री जुटाउन गाह्रो भयो। उनले सेनालाई आदेश दिए– घर–घर पुगेर ऋतु जनाउनू, मोहर पैसा माग्नू, अन्न माग्नू । त्यसपछि त्यो हरेक वर्ष म खेलिने भएँ।
केहीले मेरो सुरुवातलाई फुर्सदसँग जोडेका छन्। उनीहरुका अनुसार यस क्षेत्रका महिलाहरु वर्षभरि काम गर्छन्। पुस–माघमा मात्र फुर्सद हुन्छ। फुर्सदमा के गर्ने भनेर राजा बलिराजलाई सोध्दा उनले यसरी गाउँ–गाउँ, घर–घर गएर खेल्नू, रमाइलो गर्नू भनेर आदेश दिए। त्यसलाई भैलो भन्नू भने। त्यसपछि औपचारिक रुपमा मेरो नाममा एक सांस्कृतिक पर्वको स्थापना भयो।
तपाईंहरुलाई सजिलो हुने गरी विभिन्न अध्ययन भएका छन्। ती अध्ययन अनुसार, बलिराजले जुम्लाको सुनारगाउँमा राजधानी स्थापना गरी राज्य सञ्चालन गरेका थिए। अहिलेको सुनार गाउँलाई त्यसबेला श्वर्ण ग्राम भनी लेखिएको पाइन्छ।
श्वर्ण ग्राम भनेको सुनको गाउँ हो। यसर्थमा त्यहाँ कि त सुन खानी थियो। नभए सुनको काम गर्नेहरु बसिरहेका थिए। सुन खानीको कुनै अभिलेख नभेटिनुले त्यो सुनारहरुको बस्ती भएको मत बलियो छ। त्यसैले कतिपय अध्येताका अनुसार बलिराज सुनाराहरका राजा थिए। तथापि उनको बैभव, प्रसिद्धी, महिमा विघटन भइसकेको सिंजा साम्राज्यभरि थियो। उनैले अह्राएपछि मेरो नामको पर्वमा मनाउन थालियो।
तर, म अहिले बलिराजलाई नै सबै जश दिन सक्दिन। सिंजा साम्राज्य पूर्ण र व्यवस्थित तथा यसको महिमा इतिहासमा गर्विलो छ। करिब १२ औं शताब्दीमा स्थापना भएर १६ औं शताब्दीमा विघटन भइसकेको राज्य यति व्यवस्थित कसरी भयो ? यो मुख्य प्रश्न हो। त्यसमाथि सत्ता हत्याउने भाइभारदारहरुबीच भएका खेलले राज्य व्यवस्थित हुन पाउँदैन।
तपाईंहरु अहिलेको नेपाली राजनीतिक अस्थिरताबारे जानकार नै हुनुहुन्छ। अस्थिरता नै देश विकासको बाधक हो भने सिंजा साम्राज्यमा भाइभारादारको झगडा नै राज्य व्यवस्थापनको चुनौती थियो। त्यही पनि सिंजा राज्य त्यति व्यवस्थित थियो भने एउटा तर्क गर्न सकिन्छ, 'महासामन्त नागराजले सिंजा साम्राज्य खडा गर्नुपूर्व त्यहाँ रैथानेहरु थिए र उनीहरुको एउटा व्यवस्थित राज्य थियो कि भन्ने मत बलियो हुन्छर सायद, त्यसैलाई हत्याएर राजा नागराजले शासन गरे।
सिंजा साम्राज्य भन्दा अगाडि को थिए? त्यो अध्ययन गर्ने जिम्मा म अहिले मेरो नाममा कलम चलाइरहेका महेश नेपालीलाई नै दिन्छु। मेरो उत्पत्तिबारे थप अध्ययनको जिम्मा उनी लगायत इतिहासबारे रुचि राख्ने तर इतिहासलाई जित्ने घोडाको लगाम नठान्नेलाई दिन्छु। अहिलेलाई भने ऋतु जनाउनै लागौँ।
मैले सुरुमै भने म ऋतु जनाउन्या भैलो हुँ। ऋतु जनाएबापत म मोहोर पैसा माग्छु। (मोहार भनेको पचास पैसा हो।) मोहर पैसाको बदलामा पीपलका पात र हाँगाजस्तै शुद्ध र लक्षिनका हुने। दक्षिणा दिनेको असल होस्, भलो होस्, व्यक्तित्व विकास भएर आकाश जत्तिको हुनू। तिमीले दुबोजस्तै जेलिएको (फैलिएको) सम्बन्ध बनाउनू र अन्न भरिएको पाथीजस्तै भरिपूर्ण हुनू भनी आशीर्वाद दिन्छु।
आजभोलि मलाई धेरैले बिर्सिसकेका छन्। पुरानो संस्कृति बचाउनुपर्छ भनेर लाग्ने डाँडामाथिका घामबाहेक अरु सबै बेखबर छन्। डाँडामैको घाम अहिले हो कि भोलि के थाहा?
बरु आजकालका छोट्याछोट्टीका (केटाकेटी) दिमागमा तिहारका गीत बजे भने, उफरले सहर थर्कायो भने, एक महिनाअघिदेखि नै केटाकेटी भेला भएर तयारी थाले भने, सरहका घर बत्तीले झिलिमिली भए भने वा गाउँमा दियो बाल्यो भने, एउटा चित्र बन्छ देउसी/भैलो आयो। सबैको मानसिकता यसरी नै निर्माण भएको छ। तर, तिहारमा खेलिने भैलो म होइन भने तिहार मलाई खेलिने समय पनि होइन। तिहार त आयातित पर्व हो।
तिहारमा खेलिने भैलोमा पनि अनेक विकृति आइसके। मादल विस्थापित भएर क्यासेट आए। त्यसलाई पनि बिस्तारै पाखा लगाउँदै र्याप, पप र हिन्दी गीत आए। हिन्दीमा पनि छाडा, ‘मै तो तन्दुरी मुर्गी हुँ,’ ‘सिला की जवानी,’ ‘मुन्नी बदनाम हुई,’ ‘तेरी कुर्ती....’ गीतहरु। मलाई नै विस्थापन गर्न आएको तिहारको भैलो विकृति र विसंगतिले भरिएर टनाटन छ। यसका कारण म लोभ हुने स्थितिमा पुगे तर मैले आफूमा विकृति आउन दिएको छैन।
उसो त ममा पनि केही विकृति थिए नै। मेरो नाममा कतिले बाटोमा लौरा राखेर भैलो मागेर बुटुवालाई दुःख दिए। त्यस्तै तिहारको भैलोमा तमाम विकृति भए पनि कतिपय ठाउँमा सकारात्मक काम भएका छन्। जस्तो दुई वर्ष पहिले सिंजाको अन्नपूर्ण मावि मष्टमाडुले विद्यालयको तर्फबाट भैलो खेलेर निजी स्रोतबाट तलब पाउने गरी राखेको विज्ञान शिक्षकलाई तलब दिने काम गर्यो। यस्ता अरू थुप्रै राम्रा कामहरु भएका छन्।
जुम्लामा केही मान्छेहरुले मौलिकतामा आधारित भन्दै देउडा खेलेर भैलोको सुरुवात गरे। पञ्चेबाजा प्रदर्शन गरे। त्यो मौलिकतासँग जोडिएको रचनात्मक कार्य थियो। तिहारको भैलोका सकारात्मक, नकारात्मक पक्षहरु जतिसुकै भए पनि, भैलो खेल्नेहरुको संख्या जतिसुकै बढे पनि, यसले निकै रमाइलो गराए पनि वा नयाँ पुस्ताले सुन्न नमिल्ने खालका हिन्दी गीतहरूमा डान्स गरे पनि वा आम मान्छेको मन जीते पनि जुम्ली माटोमै उब्जिएको भैलो भने होइन। अर्थात् त्यो म होइन। कतिले त्यसलाई बलिराजको आदेश पनि भन्छन् तर त्यो अल्पज्ञानको उपज हो।
बरू तिहारमा खेल्ने भैलोलाई पछिल्लो पुस्ताले विकृतिको रूपमा भित्र्याएको, अरूको संस्कृति अपनाएको र आफ्नो संस्कृति भुल्न लागेको देखेर बुढापाकाहरुको चित्त बुझेको छैन। उनीहरुको मत छ, ‘आयातित संस्कृतिलाई महत्त्व दिनाले मौलिक संस्कृति लोप हुने स्थितिमा पुग्यो।’
मलाई पुगाड्दा (भट्याउँदा) सिंजा कर्णालीका अधिकतम स्थानका नाम छुट्दैनन्। मेरो नाममा मंसिर पूर्णिमामा एक दिन र पुसे औंसीको दिनदेखि पाँच दिनसम्म एउटा लामो सांस्कृतिक उत्सव चल्छ।
त्यसको एक दुई दिन पछि नजिकैको चउर वा सार्वजनिक जग्गामा गएर सामुहिक भोज आयोजना गरिन्छ। जसलाई पाठेभात भनिन्छ। त्यस रात भैलेरीहरु रात ब्याउने पनि गर्छन् भने, भैलेराहरु पाहुना लाग्न जान्छन्। यस्तो बेला मैले केही केटाकेटीको माया प्रिती बसाउने माहोल समेत मिलाउँछु।
मंसिर पूर्णिमाको दिन मलाई सानी भैलो भनेर एकदिने पर्व मनाइन्छ। जसलाई यसरी पुगाड्ने (भट्याउने) गरिन्छ।
आइपुनिका वा औंसी बार – भैलो
दर बुधबार – भैलो
दरम्या खोली – भैलो
बाँसैन झोली – भैलो
बाँसैन भित्त – भैलो
आर्या न तार्या – भैलो
पीपल डाल्या – भैलो
पीपल पाती – भैलो
रायाकी छाती – भैलो
रायो जुमाउनु – भैलो
बाखरी खानु – भैलो
भैलो गयो दाङ – भैलो
अरु क्यै नमाग – भैलो
मोहर पैसा माग – भैलो
भैलो सुवाल – भैलो
डोड्ने हैनौं, माग्न्या हैनौं – भैलो
ऋतु जनाउन्या – भैलो
ऋतुका बात – भैलो
आकाश सिला – भैलो
पातल जडा – भैलो
दूबोजुन जेलिया – भैलो
पाथाजन भरिया – भैलो
यसरी म आफू घरघर पुग्नुको कारण बताउँछु। म हुनुको शोभा बढाउने महिला, पुरुषलाई भैलेरा भैलरी भनिन्छ। भैलेरीहरुले तलतिर घाँघरा र माथिलो शरिरीरमा ठेटुकाको चोली लगाएका हुन्छन्। भैलेराले दौरा सरुवाल लगाउँछन्। ती जुम्लाका विभिन्न दरा खोलाका मानिस हुन्छन्। उनीहरु झोला भिरेर बाँस झाँगिएझै हुल बाँधेर आयौँ भन्छन्।
मेरो नाममा ऋतु जनायौं भन्दै मोहोर पैसा माग्छन्। (मोहार भनेको पचास पैसा हो।) म मोहर पैसा दिनेलाई पीपलका पात र हाँगाजस्तै शुद्ध र लक्षिनका छौं।
दुबोजस्तै जेलिएको (फैलिएको) सम्बन्ध बनाउनू। अन्न भरिएको पाथीजस्तै भरिपूर्ण हुनु भनेर आशिर्वाद दिन्छु। यो काम ऋतु जनाएबापत मोहर पैसा पाएपछि गर्छु।
तिहारको भैलोजस्तै ‘आहै... यसै घरका जेठा छोरा डाक्टर बनुन, यसै घरका माहिला छोरा...’ भन्दै आशिस दिने चलन भन्दा कयौं गुणा साहित्यिक, भाव बोकेको, विम्ब र प्रतिकहरु सहितको मर्मस्पर्षी अनि अतिरञ्जनायुक्त छु म र मैले दिने आसिस।
प्रत्येक घरघरमा खेल्नुपर्ने भएकाले यस्तो प्रकारले पुगाड्ने गरिन्छ। यो पूर्ण अंश होइन। त्यसैले यसमा सबै कुरा समेटिएको हुँदैन। यदि समय धेरै भयो भने पूर्ण पाठ पुगाडेर (भट्याएर) भैलो खेल्ने गरिन्छ। यसको पूर्ण पाठमा कर्णालीका महत्त्वपूर्ण स्थानहरु छुट्दैनन्। तिनको महत्वलाई ‘यो यो खान्की पायो’ भन्दै दर्शाइएको हुन्छ।
अन्त्यमा दाङ देउखुरी हुँदै मलाई नेपाल (हालको काठमाडौं उपत्यका) सम्म पनि पुर्याइन्छ। एक हिसाबले यतिबेला मेरो देश दौडाह सुरु हुन्छ। म ऋतु जनाउन काठमाडौंसम्म पुग्छु। आज काठमाडौं हामीलाई शासन गर्छ। म उता उसलाई ऋतु जनाउन जान्छु।
सानी भैलोको ठिक १५ दिनपछि औँसीको प्रतिपदादेखि पाँच दिनसम्म सिंजा र जुम्ला उपत्यकामा मलाई ठूली भैलोको नामले पर्व मनाउने गरिन्छ। यसमा मेरो उत्पत्तिदेखि पुग्ने ठाउँसम्मको वर्णन गरिन्छ। जसका शब्दहरुले उतिबेलाको कर्णालीको वैभव र यथार्थतालाई झल्काउँछन्। बान्की मिलाएर निकै लामो र मिठो लयमा गाउन यसरी सुरु गरिन्छ।
काँ र जन्म्यो भैलो ? मानसरोवर कविलास – भैलो
ऐंर देखि भैलो ताक्लाखार आयो – भैलो
ताक्लाखार भैलाले क्या को खान्की पायो ? – भैलो
ताक्लाखार भैलोले सुन खान्की पायो – भैलो
त्यस्तै क्रमशः भैलो खोचेर आएर मूर्ति, हिल्सा आएर राज्य, हुम्ला आएर फेरूवा (भेडाको उनबाट बनेको ओछ्याउने बस्त्र), सोरू गल्ब आएर मास, गराउँस, मुगु करान आएर नुन/उन, गमदरा (गमगडी) आएर मच्चा (खुर्सानी), घुच्ची आएर बयाल (बतास), बोता आएर चोतो/कोइरो (सलगम जस्तो मिठो फल।
अचार र तिउन, तरकारी बनाउन मिल्ने), सिंजा गडी आएर राजधानी पायो, लामथाडो हल्लायो, सिउबाघ जुधायो, लुड्कु आएर राजगुरु, लाहर्ज आएर जम्वुबाली, ओडार आएर पाँचै पाण्डव, देआरपाटा आएर पुजा पालो, जाँच आएर धान खानी, नराकोट आएर केदारनाथ, जुम्ला चौधान आएर चन्दननाथ पायो, मार्सी धान रोपायो, श्रीढुस्का आएर सत्र खम्बा, पाँच सया दरा आएर बाइस पाटन, रकाल खोला आएर बयाल (बतास), बारबीस आएर ओडार, दुल्लु दैलेख आएर पञ्चकोशी, सुर्खेत आएर काँक्रेविहार खान्की पाएको कुरा छुट्दैन।
त्यसैगरी दाङ देउखुरी आएर भैलोले संसारै फिजायो, नेपालै पुर्यायो भन्ने छ। यसरी जुम्लामा खेलिने मलाई मानसरोवरबाट जुम्ला आएको र जुम्लाबाट दैलेख, सुर्खेत दाङ हुँदै नेपाल (उतिबेलाको काठमाडौं उपत्यका) सम्म पनि पुगेको पुष्टि हुन्छ।
सिंजातिर मेरो नामको उत्सव मनाउँदा कर्णाली क्षेत्रको विरासतलाई संस्कृतिसँग जोडिन्छ। साहित्य कुनै पनि क्षेत्रको भुगोल, इतिहास, कला कौशलसँग जोडिएको हुन्छ। यसले संस्कृति निर्माणमा योगदान गरेको हुन्छ। यसरी कर्णाली क्षेत्रमा विकास भएको भैलोले यहाँको संस्कृति र सभ्यताको उच्चतम विकासलाई प्रष्ट्याउँछ।
एउटा स्थिर राज्यको अभ्यास देखाउँछ। तर सिंजा साम्राज्यको उत्तरार्धमा अझ बढी अस्थिरता देखिनुले त्यो भन्दा पहिलाको ऐतिहासिकता खोतल्नै पर्ने आवश्यकताको उजागर गर्छ। जसको जिम्मा मैले दिइसकेको छु। मेरो बारेमा आगामी दिनमा अझ बढी जानकारी मिल्नेमा म ढुक्क छु। बरु ढुकचुक तपाई जुम्लाबसीबाट छ, जसले मलाई डाँडामाथिको घाम बनाइदिनुभएको छ।
त्यस्तै जुम्ला उपत्यकामा पनि उत्सव मनाउँदा मलाई मावसरोवरमा जन्मेको कुरा उजागर जरिन्छ। जसमा मानसरोवर तीर्थ खान्की पाएको कुरा छ। अहिले पनि मस्टो मान्ने भक्तजनहरु आफ्नो देउता ल्याउन मानसरोवर जान्छन्। जुम्ला उपत्यकामा खेलिने भैलो यसरी सुरु हुन्छ।
पैल्हा(पहिला)को भैलो काँबाट उब्ज्यो ? – भैलो
पैल्हाको भैलो मानसरोवर उब्ज्यो – भैलो
सरोवरका भैलोले क्या कै खान्की पायो ? – भैलो
सरोवरका भैलाले यै यै खान्की पायो – भैलो
हाँस खेल्न्या, पुली पाड्न्या तीर्थ खान्की पायो – भैलो
जुम्ला उपत्यकालगायत जिल्लाका अरु स्थानमा लामो सांस्कृतिक उत्सवको सुरुवात उस्तै भए पनि पछाडिका अनुप्रास फरक फरक छन्। तर, सबै ठाउँको उत्सवमा कर्णाली क्षेत्रको ऐतिहासिकताको चर्चा छुट्दैन। यसरी सबै क्षेत्रमा खेलिने मरो नामको उत्सव लगभग उस्तै हुनुले पनि समकालीन अवस्थामा कर्णालीको शक्ति अथाह भएको बुझ्न सकिन्छ। आज पो केन्द्रीकृत शासकीय मानसिकताको कोपभाजना कर्णाली परेको छ। म परेको छु।
कतिपयले सीधै पुगाड्दा मलाई केटाकेटीले खेल्ने भन्छन् भने ‘खान्की पायो’ भनेर खेल्नुलाई पाका उमेरका वयस्क र महिलाहरुले खेल्छन्। सायद म मानसरोवरबाट सुरु भएर नेपाल (काठमाडौं) सम्म पुग्छु तर उताका मान्छेले केही फेरेर तिहारमा खेल्ने भैलो बनाए र त्यसैलाई यतासम्म पुगाइदिए।
पुसको महिना खेलिने म कर्णाली क्षेत्रको गौरवशाली सांस्कृतिक पर्व हुँ। तर, यतिबेला मलाई छोडेर तिहारको आयातित भैलोमा सबैको ध्यान गएको छ। इतिहास र विरासतसँग जोडिएको म एक सुमधुर सामुहिक गीत हुँ तर मलाई गाउन छोडेर ‘लौंडिया पटाएगें मिस कल से’ लगायत बेअर्थ र बेसुरका गीतमा नाच्नु थालिएपछि मुरो चिन्ता बढेको हो।
तपाईं हामीलाई निकै मनोरञ्जन प्रदान गरेका यी क्रियाकलापहरु झट्ट हेर्दा सामान्य लागे पनि पछि गएर गम्भिर प्रकृतिको भूल हुन सक्ने सम्भावना रहन्छ। यसले हाम्रो मानसिकतामा हमला गर्छ। मानसिक हार सबैभन्दा खतरनाक हुन्छ। जसको कुनै प्रतिरोध हुन्न । संस्कृतिमाथि हमलाको प्रतिरोध निकै कठिन र कष्टसाध्य हुन्छ।
जस्तो कि नेपालका फिल्म हलहरुमा भारतीय चलचित्रहरु चलाइनुको पछाडि नाफाभन्दा पनि नेपालीहरुको मानसिकतामा भारतीय संस्कृति पसाउन बढी हुनसक्छ। त्यही प्रयोग गरेको थियो बेलायतले सन् १८३२ मा भारतमाथि।
त्यसबेला लर्ड म्याकलेले बेलायतको संसदमा ‘माइनुट अफ इन्डियन एजुकेसन’ भन्ने कार्यपत्र पेश गरे। उनले भारतमा अंग्रेजी शिक्षा दिएर संस्कृतिमाथि हमला गर्न सुझाएका थिए।
उनले भनेजस्तै भारतमा अंग्रेजी शिक्षा लागू भयो। भारतको आफ्नो अंग्रेजी साहित्य थिएन। परिणाम उनीहरुको साहित्यबाट प्रभावित भारतमा अंग्रेजी बोल्ने जान्ने मध्यम वर्ग तयार भयो। जसलाई आम भारतीय भन्दा माथि रहेको सोच्न सिकाइयो।
उसैले बेलायतीहरुको सेवक भई आफ्नै भारतीयलाई दबाउन थाल्यो। त्यही हतियार प्रयोग गरेर बेलायत आफ्नो उपनिवेस विस्तार गर्न सफल भयो। आज हामीमाथि यस्तो संकेत देखिन थालेको छ।
पुस्तौंदेखि मलाई उत्सवको रुपमा मनाउँदै आएपनि आजभोलि म सडक विस्तार भएपछिको डोरेटो बाटोजस्तो भएको छु। नयाँ पुस्ता मेरो बारे बेखबर छ। केही फाट्टफुट्ट अघिल्लो पुस्ताकाले खेलिरहेका भएपनि अब पूर्ण रुपमा लोभ हुने अवस्थामा पुगेको छ। अरुको संस्कृतिलाई आँखा चिम्लेर अंगाल्नाले कुनै दिन थाहै नपाइ हामीले पहिचान गुमाइसकेका हुनेछौं। मैले त उहिले देखि ऋतु जनाउँदै आएको छु। यो रहन्या, नराहन्या तपाईकै हातमा छ। होस गर्या है मान्ठौ!