भ्युटावरको जगनजिकै एउटा ताम्रपत्र हुन्छ । त्यो ताम्रपत्रमा बडो दु:खकष्ट सहेर उद्घाटन गर्न पुगेका मन्त्रीको, सांसदको अनि गाउँपालिका अध्यक्षको नाम चहकिलो गरेर लेखिएको हुन्छ । मानौं कि यो एउटा यस्तो कृति हो जसको युग–युगसम्म अपरम्पार महिमा इतिहासले गाइरहनेछ। आखिर नाममा के छ ? ए हजुर एकबारको जुनीमा सबथोक रहेछ।
निकै फुर्तीका साथ जनप्रतिनिधि भाषण गर्छन्, 'आदरणीय जनसमुदायहरू म भएका कारण यहाँ भ्युटावर आएको छ। झण्डै बजेट फुत्किएको थियो। मैले केन्द्रमा जोडबल गरें, कति कराएँ, धाएँ, थर्काएँ र पो बल्ल भ्युटावर आयो।' भ्युटावरभन्दा धेरै अग्लो दु:खका भारी बोकेका, भ्युटावरभन्दा अग्ला पहाड दैनिक उक्लिएका जनतालाई थाहा हुँदैन भ्युटावरमा चढेर के हेर्ने ?
भ्युटावरबाट के देखिन्छ? हो भ्युटावरबाट भ्युटावरभन्दा अग्ला पहाडहरू देखिन्छ, जुन पहाडको बीचमा दु:खीराम काकाको भैँसीगोठ छ। दु:खीराम काकाको भैँसीगोठ हेर्न भ्युटावर उक्लिनु पर्दैन। अरू के देखिन्छ भ्युटावरबाट ? गरीबका झुपडीहरू देखिन्छ । स्कूल जान नसकेर बारीमा खेल्दै गरेका केटाकेटी देखिन्छ । भोकैनांगै हिँडेका निमुखाहरू देखिन्छ । बेरोजगार युवाहरू गफ गरिरहेको देखिन्छ । पुरानो स्कूलको भत्किनै लागेको छानो देखिन्छ । पहिरोले बगाएको हेल्थ पोस्टको भग्नावशेष देखिन्छ । हो, धेरैथोक देखिन्छ भ्युटावरबाट ।