ठूलो होस् वा सानो, चोर चोरै हो

शिलापत्र

काठमाडाै‌ं

खगेन्द्र संग्राैला

प्रसङ्ग चोरीको, मूल कथातत्त्व तोरी सरको ।
पेटव्यहोरा ढ्याकप्रसाद, ढोङनाथ र चटपटकान्तको ।

चोरी एउटा दुर्व्यसन हो । चोर्दै जाँदा चोरीकर्म जब चोरको आदत बन्दै जान्छ, त्यो क्रमशः प्रवृत्तिमा विकसित हुन्छ । प्रवृत्ति जण्ड प्रकृतिको हुन्छ । हो, बडो ढिड र जरुवा प्रकृतिको हुन्छ त्यो । त्यो प्रतिवद्ध र निरन्तर चोरीकर्ताका नसानसामा, रगतका कणकणमा व्याप्त हुन्छ । त्यो भित्रभित्रै गड्छ र त्यो हुनुसम्म जमठ हुन्छ ।

सानो होस् वा ठूलो, चोर आखिर चोरै हो । सानो चोर वास्तवमा मौका नपाएर ठूलो चोर हुन नसेकेको चोर हो । सानो चोर वास्तवमा ठूलो चोर हुने मौका कुरी बसेको चोर हो । मौका पायो कि फटाफट चोरीको सिँढी उक्लिँदै ऊ चोरीको उच्चतातर्फ, उत्कर्षतर्फ, विध्वंसतर्फ उन्मुख भइहाल्छ । 

नेपाली राजनीतिमा अहिले कष्टकर पश्चगमनको अनिष्ट मौसम छ । यो मौसमका मूल नाइके, पृष्ठभूमि निर्माता र उद्घोषक हुन् श्री तोरी सर । सत्ता-राजनीतिमा तोरीय प्रवृत्तिको चुरो कुरो बुझ्ने कोही ज्ञानी यिनलाई ‘भष्मासुर’ भन्छन् । कोही ज्ञानी यिनलाई ‘गोर्खे हिटलर’ भन्छन् । र, कोही ज्ञानी यिनलाई ‘छोटे ट्रम्प’ भन्छन् ।

तोरी सर आफ्नो नायकत्वमा निर्मित यो पश्चगमनको सुरुङमार्गी अमानवीय यात्राका ‘उदीयमान नरेश’ हुन् । चल्तीको लोकबोलीमा मिस्टर तोरी ‘बयलगाडे नरेश’ भनेर सर्वत्र चिनिन्छन् । यो वास्तवमा कल्पनाशील तोरी स्वयम्‌ले स्वयम्‌का लागि रचेको खुबै सुहाउँदिलो पश्चगामी नाम हो । कर्ताको खास प्रवृत्ति झल्किने यो नाम तोरी सरलाई हुनुसम्म शोभायमान छ ।

आयो कुरा फेरि चोरैको । छिमल-छिमलका राजनीतिक चोरहरूबाट आजित भुक्तभोगी लोक भन्छ- पश्चगमनको माहौलका सर्वाधिक ठूला चोर तोरी सर हुन् । चोरीकर्मका निर्विवाद अग्रदूत, उस्ताद एवं कमाण्डर विरलाकोटी तोरी सर । जनजनले कत्रा दुःखले आर्ज्याका जनअधिकारका चोर । रक्तरञ्जित खण्डे संविधानको मर्म र निम्छरो संसदको घिटीघिटी प्रणवायुका चोर । शैशवकालीन लोकतान्त्रिक संस्था र संरचनाको अख्तियार, प्रतिष्ठा र गरिमाका चोर । राजकीय शक्ति र स्रोत-साधनका चोर । संसदीय विधि, नीति र मर्यादाका चोर । सहिदका पवित्र सपना, अमूल्य त्याग र स्मरणीय बलिदानका चोर । नागरिक स्वतन्त्रता, स्वायत्तता र स्वाभिमानका चोर । सारमा जनजनको भाग्य र भविष्यका जघन्य चोर । यतै चोर, उतै चोर, जताततैको चर्चामा मान्यवर तोरी सर चोरैचोर !

 

प्रकाशित मिति: : 2021-01-17 16:09:00

प्रतिकृया दिनुहोस्