अदालतमा विचाराधीन मुद्दामा आशंका राख्नु दुःखद् : सर्वोच्च

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग चार जना न्यायाधीशले भेटेको सम्बन्धि खबरको खण्डन गरेकाे छ।

 प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा परेको मुद्दाको सुनुवाइ भइरहेका बेला पुस २६ र २७ गते बालुवाटारमा चार जना न्यायाधीशले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको रिपोर्ट केही मिडिया‍ले प्रकाशित गरेकाे थियाे।
 
तर सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले शुक्रबार साँझ विज्ञप्ती जारी गरेर समाचारकाे खण्डन गरेर अदालतमा विचाराधीन मुद्दामा आशंका राख्नु दुःखद रहेको बताएका छन्।

‘न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनआस्थामा प्रतिकुल प्रभाव पर्नेगरी भ्रामक  समाचार सम्प्रेषण हुनु दुःखद र खेदजन्य विषय हो’, विज्ञप्तीमा भनिएको छ, ‘अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम सिर्जना गर्ने कुत्सित मनसाय राखी समाचार सामाग्री प्रकाशन गर्ने कार्यबाट न्यायपालिकाप्रतिको विश्वसनीयता र आम नागरिकको यस प्रतिको आस्थामा खलल पुग्न जाने अवस्था रहन्छ।’

विज्ञप्तीमा यस प्रकारका कार्यहरू कानून प्रतिकुल हुनेहुँदा कानूनी दायरामा आउन सक्ने तर्फ सचेत हुन ध्यानाकर्षण गराइएको छ।

प्रकाशित मिति: : 2021-01-15 19:52:00

प्रतिकृया दिनुहोस्