औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ।
कोरोना भाइरसविरुद्धको खोप ‘कोभिसिल्ड’, अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो।
विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो। विभागका प्रवक्ता सन्तोष केसीका अनुसार हुकुम डिस्ट्रिब्युटर्सले ‘कोभिसिल्ड’लाई आपतकालिन प्रयोगको लागि दर्ता गरेको हो।
सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिइएको विभागले जारी गरेकाे सूचनामा जनाइएकाे छ।
सेरम इनिस्च्युटको खोपले औषधि ऐन २०३५ (तेस्रो संशोधनसहित)को दफा ९ क का आधारमा आपतकालीन प्रयोगको अनुमति पाएको हो।
उक्त दफामा विभागमा दर्ता हुने खोप विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्वन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका खोपहरु वा त्यस्ता नियामक निकायले अनुमति प्रदान गरेका खोपलाई दर्ता गर्न सकिने भनेको छ।
यससँगै अब नेपालमा खोप ल्याउन बाटो खुल्नेछ।
कोरोनाका लागि ‘चन्दा’ उठाइएको रकम अन्य १२ खोपमा प्रयोग गर्ने
स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको खोपका लागि बुधबार सूचना जारी गरी ‘चन्दा’ आह्वानबाट संकलन हुने रकमको प्रयोजनको दायरा बढाएको जनाएको छ।
सूचनामा सहयोग आह्वान गर्दा कोरोनाको खोपका लागि मात्र भनिएको थियो।
शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै काेराेनाका अतिरिक्त सरकारले सञ्चालन गरेका अन्य १२ खोपमा चन्दाको रकम प्रयोग गरिने उल्लेख छ।
अर्थ मन्त्रालयले कोरोना खोपका लागि पर्याप्त बजेट व्यवस्थापन भइसकेको जनाएको छ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक सूचनामा भनिएअनुसार तोकिएको बैंक खातामा रकम जोहो हुन गएमा हालको कोभिड-१९ को खोप अभियान सञ्चालनका अतिरिक्त विभिन्न १२ खोपको अभियान र भोलिका दिनमा थप गर्नुपर्ने खोपहरूमा समेत सहजीकर हुनेछ भन्ने अपेक्षा राखिएको छ।’