दश महिनापछि हलमा नयाँ चलचित्रः उत्साह कम, प्रचार शून्य (भिडियाेसहित)

भारतमा ‘मास्टर’ बिक्याे, नेपालमा बिकेन

दश महिना पछि हलमा नयाँ चलचित्र रिलिज हुँदै, उत्साह कम, प्रचार छैन। गत चैतमा बन्द भएका चलचित्र हल पुस १० गतेबाट पुनः सञ्चालनमा आए। 

कोरोनाको जोखिम कायमै रहेको भन्दै सरकारले खोल्न अनुमति नदिएपछि  पौष १० गतेबाट एकतर्फी रुपमा हल खोलेर चलचित्र संघले पुराना २ नेपाली चलचित्र रिलिज गरेको थियो। 

उक्त चलचित्र थियो ‘सेन्टी भाइरस’ र ‘आमा’। एकातिर हलमा पुरानै चलचित्र रिलिज भएका थिए, भने अर्को तिर कोरोनाको डर हलमा दर्शकको कम उपस्थिति रह्यो। 

त्यतिबेलै, किन नयाँ चलचित्र रिलिज गरिएको? भन्ने प्रश्नमा नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले निर्माताले  प्रचारप्रसारको लागि समय मागेका कारण नयाँ चलचित्र रिलिज गर्न नसकिएको बताए। 

‘निर्माताले प्रचारप्रसारको लागि समय माग्नु भएको छ, अहिले प्रचारप्रसारको लागि समय दिएका छौं,’ उनले बिएल नेपाली सेवासँग भनेका थिए। 

 गत बर्षको फागुण १६ गते चलचित्र ‘धुलो’ रिलिज भएको थियो। फागुण ३० गते ‘म यस्तो गीत गाउँछु २’ र चैत्र ७ गते ‘निरफूल’ नामक चलचित्र रिलिज गर्ने मिति घोषणा गरिएको थियो। 

तर कोरोना महामारीको जोखिम कायम रहेको भन्दै तत्काल निर्माताले  नयाँ चलचित्र रिलिज गर्न तयार भएनन्। तर, सरकारले नै हल खोल्ने अनुमती दिएपछि रिलिज भएको नयाँ चलचित्र भने ‘एउटा यस्तो प्रेम कहानी’ बनेको छ।

हल संचालनमा आएको केही दिनमै दिपेश सापकोटाको निर्देशनमा तयार भएको चलचित्र  ‘एउटा यस्तो प्रेम काहानी’को रिलिज मिति घोषणा भयो। ‘एउटा यस्तो प्रेम कहानी’ आजबाट रिलिज भएको हो।

१० महिनापछि नेपाली चलचित्र क्षेत्र विस्तारै चलायमान हुन थालेको संकेत दिएपनि न त प्रचारप्रसार भएको छ, न कलाकारमा उत्साह नै छ। चलचित्र उद्योगलाई चलायमान बनाउन सबै चलचित्रकर्मीले राम्रो प्रचारप्रसार गर्नुपर्ने हो। तर प्रचारको अभावले हलमा कुन चलचित्र लाग्दै छ भन्ने कुराको खबरसम्म छैन दर्शकलाई। 

 ‘एउटा यस्तो प्रेम कहानी’ अभिनेता शिव श्रेष्ठले निर्माण गरेका हुन्। जसमा शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिष्मा मानन्धरकी छोरी कविता मानन्धरले चलचित्रमा डेव्यु गर्न लागेका छन्। चलचित्रमा शक्रि, कविता सँगै शिव श्रेष्ठ, प्रियाँका कार्की, वर्षा राउता, आयुष्मान देशराज जोशी लगायतको अभिनय रहेको छ।

अन्य चलचित्र रिलिज हुने समयमा वर्षा राउत चलचित्रको प्रचारप्रसार कार्यक्रममा व्यस्त हुन्थिन्। तर माघ १ गते रिलिज हुन लागेका आफू अभिनित ‘एउटा यस्तो प्रेम काहनी’को प्रचारप्रसार कार्यक्रमको पत्तो समेत पाएकी छैनन्। 

प्रचारप्रसार कार्यक्रमाबारे निर्माण पक्षले कुनै जानाकारी नगराएको उनी बताउछिन्। यता चलचित्रका पण्डितहरुले शिव श्रेष्ठको चलचित्र कमजोर भएका कारण यो समय तोकिएको समेत बताएका छन्। 

भारतमा ‘मास्टर’ बिक्याे, नेपालमा बिकेन

यता आजैदेखि साउथका सुपरस्टार विजय र विजय सेतुपती अभिनित तमिल चलचित्र ‘मास्टर’ पनि नेपालमा प्रदर्शन भएको छ। 
यो चलचित्र हिन्दी भर्सनमा रिलिज गरिएको हो। 

यो चलचित्रलाई वितरक मनोज राठी र उनको टिमले महंगो रकम तिरेर नेपाल ल्याएको हो।

तमिल भाषामा यो चलचित्रले बम्पर ओपनिङ गरेको छ। बुधबारदेखि रिलिज भएको चलचित्र ‘मास्टर’ले भने दर्शकलाई हलसम्म फर्काउने पक्का देखिएको छ।

यो चलचित्रको बुकिङ सोमबारदेखि नै खुलेको थियो। सोमबारदेखि हलले बुकिङ खुल्ला गरेपछि दर्शकको भीड अत्याधिक देखिएको छ। 

चलचित्रको टिकट लिनका लागि दर्शकको भीड अत्याधिक बढेपछि चेन्नाइको एक चलचित्र भवनका संचालकले प्रहरीलाई नै बोलाउनु परेको थियो।

बुकिङ खुल्ला भएसँगै हलमा टिकट लिनेहरुको भीड बढेको थियो। हल संचालकले काउन्टरबाटै टिकट लिन नपाइने व्यवस्था गर्दै अनलाइन बुकिङ मात्र खुल्ला गर्नु परेको थियो।

भारतीय चलचित्र पण्डितहरुले ‘मास्टर’ले बम्पर व्यापार गर्ने विश्लेषण गरेका छन्। यो चलचित्र भारतका विभिन्न ४ भाषामा रिलिज हुँदैछ। लोकेश कंगाराजले यो चलचित्रको निर्देशन गरेका हुन्।

रिपोर्टकाअनुसार एक्सन थ्रिलर चलचित्र ‘मास्टर’ले पहिलो दिन विश्वभरबाट ४० करोड रुपैयाँ कमाउन सफल मानिएको छ। चलचित्रको हिन्दी भर्सन बिहिबारबाट रिलिज भएको छ।  

चलचित्रले तमिलनाडुमा मात्र २३ करोड कमाएको छ। केरला र कर्नाटकमा यसको आम्दानी ३, ३ करोड बढी बताइन्छ। तेलन्गाना र आन्ध्रा प्रदेशमा चलचित्रले ४.५ करोड बढी कमाएको छ। देशका विभिन्न भागबाट १.५ करोड कमाएको छ। चलचित्रले ओवरसिज मार्केटबाट पनि ४ करोड हात पारेको थियो।

तर हिन्दी भर्सनमा भने चलचित्रको बुकिङ सुखद छैन। यसकै लहडमा लागेर नेपालमा पनि यो चलचित्र रिलिज गर्न लगिएको थियोर 

मल्टिप्लेक्स हलहरुले बुधबार यो चलचित्र रिलिज हुने भन्दै अनलाइनमा राखेका थिए। तर, त्यसको केही समयपछि चलचित्रलाई मल्टिप्लेक्स हलहरुले अनलाइनबाट हटाएका छन्। 

 उनले २० लाख भारुमा यो चलचित्र नेपालमा ल्याएको र आफूहरुले जोखिम मोलेको बताए।

वितरक राठी भन्छन्–‘चलचित्र क्षेत्र चलायमान त बनाउनुपर्यो। नेपाली चलचित्र रिलिज गर्न कोही पनि तयार छैनन्। यसैले, कुनै न कुनै भाषाको चलचित्र भएपनि चलाउनुपर्ने अवस्था छ।’

हल संचालन तथा अनुगमनको मापदण्ड

 सरकारले हल खोल्ने निर्णयसँगै हल संचालन तथा अनुगमनको मापदण्ड पनि तयार पारेको छ । 

मन्त्रीपरिषद्ले हल खोल्ने अनुमती दिएसँगै संचार मन्त्रालयले हल संचालनका लागि मापदण्ड तयार पारेको हो ।

सरकारले सार्वजनिक गरेको मापदण्डमा रहेर प्रदर्शकहरुले हल संचालन गर्नुपर्नेछ ।

१९ बुँदे संचालन तथा अनुगमन मापदण्डमा अनलाइनमार्फत टिकट विक्री गर्नुपर्ने, काउन्टरबाट विक्री गर्नुपर्दा तोकिएको भौतिक दुरी कायम गरी सोको अनिवार्य पालना गराउनुपर्ने उल्लेख छ । 

यस्तै, दर्शक तथा हलका कर्मचारी अनिवार्य रुपमा मास्क लगाएर मात्र हलमा प्रवेश गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: : 2021-01-14 15:04:00

प्रतिकृया दिनुहोस्