ओलीको त्यो सडकछाप पार्टीमा को–को जाने हो हेर्न बाँकी छ: माधव नेपाल

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड) अध्यक्ष माधवकुमार नेपालले नेकपा (ओली)को पार्टीलाई सडकछापको संज्ञा दिएका छन्। 

बुधबार नेकपा काठमाडौंले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उनले हाँकेको पार्टी सडकछाप भएको बताएका हुन्। 

‘केपी शर्मा ओलीले नेकपाको केन्द्रीय सदस्य ४४१ बाट बढाएर ५५६ त्यसबाट बढाएर १ हजार ५०१ बनाउनु भएको छ, त्यसबाट पनि बढाएर २५ सय १ बनाउन लागेको म सुन्दै छु’, उनले भने, ‘२५ सय १ ले नपुगे ५ हजारले त कम्तीमा पनि पुग्ला? अहिले हेर्नुहोस् त डम्मरु बजाउँदै टिकट बाँड्दै, केन्द्रीय सदस्य बन्न आउन भनेर टिकट बाँडिरहनुभएको छ। उहाँको त्यो सडकछाप पार्टीमा को को जाने हो हेर्न बाँकी छ।’

उनले ओलीले आफूलाई खेलाडी भएको बताउँदै खेलाएर मान्छेलाई तह लगाउन खोज्ने प्रवृत्ति रहेको बताए।

‘उहाँ खेलाडी पनि हुनुहुन्छ, चतुर त नभनौँ, उहाँ खेलाएर मान्छेलाई तह लगाउन सक्छु भन्ने ठान्नुहुन्छ’, उनले भने। लोकतन्त्र र संविधानमा प्रहार गरेपछि प्रधानमन्त्री केपी ओली एक्लिँदै गएको समेत बताए।

‘असंवैधानिक कदमले ओलीलाई एक्लो र निरिह बनाए,’ उनले भने,‘ देश, जनता, नागरिक समाज सबैतिरबाट हामीलाई समर्थन छ।’

नेपालले प्रधानमन्त्री ओली कहिल्यै नसुध्रिने मान्छे भएकाले पार्टी एकता गर्ने वामदेवको प्रयास सफल नहुनेसमेत दावी गरे।

‘२०५१ सालदेखि नै केपी ओलीले पार्टीमा गुट चलाउँदै अलग पार्टीको अभ्यास गरिरहेका छन्,’ उनले भने, कमरेड वामदेव गौतम अहिले बालुवा पेल्दै हुनुहुन्छ। प्रचण्डले पनि ‘कुकुरको पुच्छर सोझिन्छ कि’ भनेर तेल लगाउनुभयो। तर बालुवा पेलेर तेल निस्कनेवाला छैन।’

प्रकाशित मिति: : 2021-01-13 16:27:00

प्रतिकृया दिनुहोस्