विशेष सम्पादकीय : ओलीको अडान र अभिव्यक्तिले उच्च बनेको नेपालीको शिर कहिल्यै झुक्न नपाओस्

लोकान्तर

काठमाडौँ

राष्ट्रहित र राष्ट्रियताको पक्षमा सधैँ खरो रूपमा उत्रिएर राष्ट्रवादी प्रधानमन्त्रीको छवि बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको शिर उच्च हुनेगरी केही अडान राखेका छन्– एक भारतीय टेलिभिजनसँगको अन्तर्वार्तामा ।

भारतीय टिभी च्यानल जी न्यूजमा सोमवार राति प्रसारित अन्तर्वार्तामा ओलीले नेपालले भारतलाई ठूल्दाइ नमान्ने र त्यस्तो व्यवहार स्वीकार्य नहुने स्पष्ट विचार राखे । 

प्रधानमन्त्री ओलीले दिएको त्यो बहुचर्चित अन्तर्वार्ताको अहिले सर्वत्र प्रशंसा भएको छ । ओलीका आलोचकहरू समेत राष्ट्रियताको पक्षमा उनले राखेका अडानप्रति नतमस्तक भएका छन् ।

ओलीको अन्तर्वार्ता यस्तो समयमा प्रसारण भएको छ, जतिबेला नेपालको राजनीति अत्यन्त संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । साथै नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमण सन्निकट छ ।

आफ्नो सत्तायात्रा सहज बनाउन नेपाली नेताहरूले भारतलाई खुशी बनाउन उसको प्रशंसा मात्र गर्ने गरेको इतिहास हाम्रासामु साक्षी छन् । तर यस मानेमा ओली अपवाद बनेका छन् ।

बीपी कोइरालाले मात्र यसरी भारतमा गएर नेपालको पक्षमा अडान राख्न सक्थे । भारत भ्रमणमा जाँदा देशको आन्तरिक मामिलालाई विदेशी भूमिमा गएर छरपस्ट पारेको भन्दै नेपालका प्रधानमन्त्रीहरूको विरोध हुने गरेको थियो । 

प्रकाशित मिति: : 2021-01-13 15:49:00

प्रतिकृया दिनुहोस्