मुसापछि बिरालोको 'कब्जा'मा विद्युत प्राधिकरण: उपत्यकामा सोमवार एकैपटक कसरी गयो बिजुली ?

मवार साँझ काठमाडौं उपत्यकाका मुख्य क्षेत्रमा एक्कासि बत्ती गयो । 

साँझ ५ः१० बजे अख्तियार, प्रहरी मुख्यालय, बालुवाटार, प्रधानमन्त्री तथा सभामुख निवास लगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको थियो ।

लैनचौर, ठमेल, दरबारमार्ग, नारायणहीटी संग्रहालय, गैरीधारा फिडरहरूमार्फत् प्रवाह हुने विद्युत आपूर्ति रोकिएपछि सबैको ध्यान त्यता खिचियो । 

सोमवार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्युत् किन बढी जान थालेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणसँग प्रश्न गरेको थियो ।

छलफलपछि विद्युत् जाने दर कटौती गर्दै व्यवस्थापन गर्न निर्देशन समेत दिइएको थियो ।

त्यसको केही समयमै साँझ ‘भीभीआईपी’ क्षेत्रमा बत्ती गएपछि विद्युत् प्राधिकरणलाई समेत तनाव भयो । 

प्राधिकरणले अचानक आएको समस्याले विद्युत् सेवा केही समय अवरुद्ध भएको भन्दै पछि क्षमा समेत माग्यो । 

किन गयो भीभीआईपी क्षेत्रमा एकाएक बत्ती  ? 

लैनचौरको ट्रान्सफर्मरमा अचानक आगलागी भएपछि भीभीआईपी क्षेत्रमा बत्ती गएको विद्युत् प्राधिकरणले जनाएको छ । 

विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले ट्रान्सफर्मरमा अचानक विद्युत् शर्ट भएकाले त्यसबाट सप्लाइ हुने फिडरहरूको विद्युत् कटौती गर्नुपरेको बताए । 

आगलागीको कारण भने रोचक छ ।

प्रवक्ता तिम्सिनाले बिरालोले ट्रान्सफर्मरको कुनै तार ‘टच’ गरेका कारण तार जुधेर आगलागी भएको बताए ।

लोकान्तरसँग उनले भने, ‘तार जुधेर विद्युत् शट भएको रहेछ, त्यहाँ बिरालो पनि मरेको पाइयो । बिरालोले छुँदा तार जुधेछ, त्यसकारण विद्युत् शट भयो ।’

प्रकाशित मिति: : 2021-01-12 17:50:00

प्रतिकृया दिनुहोस्