प्रधानमन्त्रीको सरकारी निवास कसरी बन्यो 'पार्टी कार्यालय' ?

शिलापत्र

काठमाडौँ

नवराज कुँवर

भाषणमा सुशासन र मितव्ययिता शब्द हम्मेसी नछुटाउने प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारको दुरुपयोग गरिरहेका छन् । पार्टीभित्र अप्ठेरोमा परेपछि संसद विघटन गरी भाषण गर्न धनगढीसम्म पुगेका उनले यसअघि र पछि पार्टी बैठकहरू स्वास्थ्य समस्या, सुरक्षा चुनौती देखाउँदै बालुवाटारमै राख्दै आएका छन् । यति मात्र होइन, वंशको भेलादेखि दलका डिनर पार्टीसम्मका कार्यक्रम बालुवाटारमा गरिएका छन् । 

आइतबार राष्ट्रियसभा आफूइतर नेताको गुट बैठकहरूको आँकडा सुनाउँदै ओलीले भनेका थिए, ‘कुनै नेताको घरमा ९ महिनामा २ सय ८० वटा बैठक बसेछ ।’ तर, यसाे भन्ने ओलीले बालुवाटारमा गरेका पार्टी बैठक र भोजभतेरका फेहरिस्त पनि लामै छ । र, ती बैठकका खर्च नागरिकले कर तिरेकाे राज्यकाेषबाट हुन्छ । 

ओली अध्यक्ष रहेको नेकपाको सचिवालय बैठक प्रायः बालुवाटारमै बस्छ । त्यसअघि पनि सबैजसाे बैठक त्यहीँ हुने गर्थे । मंसिर तेस्रो साता नेकपा मुख्यालय धुम्बाराहीमा राखिएको सचिवालय बैठकमा प्रधानमन्त्री ओली गएनन् । कारण देखाइयो, स्वास्थ्य अवस्था र सुरक्षा चुनौती । पहिला पार्टी कार्यालयमा पनि बस्ने सचिवालय बैठक त्यसपछि बालुवाटारमै राख्न थालियो ।

अहिले नेकपा विभाजित छ । उनले नेतृत्व गरेको समूहका अधिकांश बैठक बालुवाटारमै राखिन्छ । ४५ सदस्यीय स्थायी कमिटी बैठकसमेत बालुवाटारमै राखिएको थियो । भेटघाट, भोजभतेरदेखि रमझमका कार्यक्रम बालुवाटारमा राखेर प्रधानमन्त्री ओलीले सरकारी निवासलाई पार्टी कार्यालय वा निजी सम्पत्ति जसरी प्रयोग गरिरहेका छन् । 

प्रकाशित मिति: : 2021-01-12 11:37:00

प्रतिकृया दिनुहोस्