बाराको आदर्श कोटवाल गाउँपालिका–१ महेन्द्र आदर्श जयनगर चिउटाहास्थित श्री राम चरित्र माध्यमिक विद्यालयको तीन वटा कम्प्युटर सेट चोरी भएको छ।
आइतबार राति विद्यालयको झ्यालको रड भाँचेर तीन वटा मोनिटर, तीन वटा सीपीयु चोरी भएको विद्यालयका प्राचार्य दिनेशप्रसाद साहले बताए।
विद्यालयमा जडान भएका दुई ओटा सीसीटिभि क्यामरा तोडफोर भएको र एक ओटा चोरी भएको छ। ल्याव र वाइफाइको तार चुडालेर लगेकाले कम्युटर शिक्षा प्रभावित भएको उनले बताए।
विद्यार्थीको रिजल्ट सिट लगायतका महत्वपूण डाटा कम्प्युटर सँगै चोरी भएकाले विद्यालय समस्यामा परेको प्रचार्य साहले बताए।
विद्यालयमा कोरोना भाइरस नियन्त्रण गर्न क्यारेन्टाइन सञ्चालन भएको अवस्थामा २०७७ वैशाखमा सीसीटिभि क्यामराको रिसिभर, इन्भटरका व्याट्रि र कम्युटर चोरीको थियो।
इलाका प्रहरी कार्यालय चिउटाहा विद्यालयसँग जोडिएर रहेपनि विद्यालयमा निरन्तर चोरी हुने गरेकाले चिन्ताको विषय भएको प्राचार्य साहले बताए ।
इलाका प्रहरी कार्यालयका सई दिलिपकुमार मिश्राले घटनाका विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।
चोरीको घटना रहस्यमय भएको स्थानीय अभिभावकले बताएका छन्।