राजकुमार दिक्पाल
गोरखालीहरुले चौदण्डी र विजयपुरमाथि आधिपत्य गर्नुअघि यी राज्यमा सेन राजा थिए । तर चौदण्डीमा खम्बु (राई) र विजयपुरमा लिम्बू पुस्तौनी हिसाबले दिवान वा मुख्यमन्त्रीका रुपमा राज्यशक्तिमा थिए ।
गोरखाली आक्रमण हुँदा चौदण्डी र विजयपुरका थपना राजाका रुपमा रहेका कर्ण सेन सपरिवार भागेर पूर्णिया पुगे। राजधानी राजाविहीन भएका बेला राज्य जोगाउन माझकिरातमा चतिम राय तथा अटल रायजस्ता खम्बु र लिम्बूवानमा काङ्सोरे जस्ता लिम्बुहरुले सैन्यनायकत्व लिएर गोरखालीविरुद्ध वीरतापूर्वक लडेका थिए ।
किरात खम्बुको बाहुल्य रहेको माझकिरातमा बसोबास गर्ने क्रममा बाहुन बाहुनहरुले विर्ता र क्षेत्रीहरुले राजदरबारमा जागिर पाए । तीमध्ये खार्पाली पोखरेल हरिनन्द उपाध्याय धनाढ्य भइरहेका थिए । क्षेत्रीमा स्वरुपसिंह कार्कीले राजदरबारको उच्च कर्मचारीका रुपमा मान पाएका थिए।
तर कर्ण सेनका खम्बु दिवान अजित राय (अगमसिंह राई) को अधिनमा रही काम गर्नुपर्दा उनीहरुबीच मनमुटाव सुरु भयो । हरिनन्द र स्वरुपसिंहले माझकिरात राज्यलाई ध्वस्त बनाई गोरखालीलाई सुम्पने विचार गरे ।
योजना अनुसार नै गोरखाली राजा पृथ्वीनारायण शाहलाई भेट्न हरिनन्द र स्वरुपसिंह नुवाकोट दरबारमा पुगे । त्यतिबेलै स्वरुपसिंहलाई सर्दारीको सैन्य अधिकृतको जिम्मेवारी मिलिहाल्यो । हरिनन्द चाहिँ चौदण्डीको माटो नै बोकेर पृथ्वीनारायणलाई चढाउन पुगेका थिए । उनले यथासम्भव धनको पनि सहयोग गर्ने बिन्ति बिसाए ।