ट्रम्पविरूद्व महाअभियोग लगाउन उपराष्ट्रपतिमाथि दबाब

बिएल संवाददाता

न्युयाेर्क

डेमोक्रेट सांसदहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जनवरी २० अगाडि नै हटाउने प्रक्रिया थालेका छन्। तल्लो सदनमा बहुमत रहेको डेमोक्र्याटिक पार्टीका सांसदको अगुवाईमा ट्रम्पविरुद्ध पुनः महाअभियोगको तयारी भएको हो।

ट्रम्प सत्तामा बसिरहन अनुपयुक्त ठहर गर्दै उनलाई हटाउने प्रयास थालिएको सभामुख न्यान्सी पेलोसीले बताइन्।

ट्रम्पका सयौं समर्थकहरूले बुधवार अमेरिकी संसदमा आक्रमण गरी निर्वाचनमा उनको हारलाई उल्ट्याउने प्रयास गरेका थिए। राष्ट्रपति निर्वाचित जो वाइडनको विजयलाई प्रमाणीकरण गर्ने संसद्को सत्रलाई रोक्ने र संसद् भवन कब्जा गर्ने प्रयास उनीहरूले गरेका थिए। 

ट्रम्प समर्थकहरूलाई संसद् परिसरबाट हटाउनका लागि तीन घन्टा संघर्ष गर्नुपरेको थियो। समर्थकहरू संसद् भवनका हलवेमा दौडेका थिए अनि विभिन्न कार्यालयमा पसेर विध्वंस मच्चाएका थिए।  

उक्त घटना पश्चात ट्रम्पको मन्त्रिपरिषद्कै सदस्यहरूले पनि उनलाई पदबाट हटाउने सम्भावनामा छलफल गरिरहेको थियो। 

जसअन्तर्गत संविधानको २५ औँ संशोधनलाई सक्रिय बनाएर ट्रम्पलाई सत्ताच्यूत गर्न उपराष्ट्रपति माइक पेन्सलाई अपिल गर्ने र सो अनुसार नभएमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरिएको छ।

तर उक्त अपिलबारे उपराष्ट्रपति पेन्सले २४ घण्टा भित्र जवाफ दिनु पर्ने छ।

२५ औँ संशोधनको सेक्सन ४ मा मानसिक वा शारीरिक रुपमा राष्ट्रपति काम गर्न सक्ने अवस्थामा नभए उनलाई सत्ताच्यूत गरि उपराष्ट्रपतिले जिम्मेवारी लिन सक्ने व्यवस्था छ। तर अहिलेसम्मका रिपोर्टिङ्गहरुमा पेन्स २५ औँ संशोधन सक्रिय पार्ने पक्षमा देखिएका छैनन्। 

पेन्सको जवाफ सोचे जस्तो नआएमा मंगलबार तल्लो सदनमा महाअभियोग प्रस्तावमाथि मतदान गर्ने तयारी भएको छ। अमेरिकी इतिहासमा अहिलेसम्म कुनै पनि राष्ट्रपतिले दुईपटक महाअभियोगको सामना गर्नु परेको छैन।

यसअघि सन् २०१९ मा युक्रेनका शासकलाई गरेको टेलिफोन संवादलाई लिएर ट्रम्पमाथि महाअभियोग लागेको थियो। त्यो बेला महाअभियोग प्रस्ताव माथिल्लो सदनबाट पारित हुन सकेको थिएन।
 

प्रकाशित मिति: : 2021-01-11 07:45:00

प्रतिकृया दिनुहोस्