तीन वर्षमा सक्ने भनिएको बहुमूल्य पत्थर प्रशोधन केन्द्रको काम सुरु नै भएन

देखापढी

काठमाडौँ

निकेश खत्री

 तीन वर्षमा सक्ने लक्ष्यका साथ दुई वर्ष अघिदेखि कर्णाली प्रदेशको सुर्खेतमा बनाउने भनिएको बहुमूल्य पत्थर प्रशोधन केन्द्रको काम अझैसम्म सुरु हुन सकेको छैन। 

कोभिड-१९ महामारीका कारण भारतीय प्राविधिक नेपाल नआउँदा काम सुरु हुन नसकेको खानी तथा भूगर्भ विभागले बताएको छ

विभागको नेतृत्वमा प्रशोधन केन्द्र निर्माण गर्ने योजना गत आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा समेटिएको थियो। त्यसपछि चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि उक्त योजनाले निरन्तरता पाएको थियो।

तर, आगामी आर्थिक वर्ष २०७८/८९ निर्माण सक्ने भनिएको योजना दुई वर्ष पूरा भइसक्न लाग्दा पनि सुरु हुन नसकेको स्विकार्दै विभागका प्रवक्ता जयराज घिमिरे भन्छन्, “प्रशोधन केन्द्र बनाउनका लागि भारतको जेमोलोजी इन्स्टिच्यूट अफ इण्डियासँग मौखिक सम्झौता भएको थियो। तर, महामारीका कारण भारतबाट प्राविधिक आउन सकेका छैनन।”

मुम्बईमा रहेको जेमोलोजी इन्स्टिच्यूटसँग प्रशोधन केन्द्र बनाउने सम्झौता (एमओयू)मा हस्ताक्षर भइसकेको छैन। सुरुमा नेपाल सरकारकै खर्चमा दुई जना प्राविधिक आएर काम सुरु गर्ने र त्यसपछि एमओयूमा हस्ताक्षर गर्ने मौखिक सहमति भएको प्रवक्ता घिमिरेले जानकारी गराए।

प्रकाशित मिति: : 2021-01-10 15:51:00

प्रतिकृया दिनुहोस्