ल्याब टेक्निसियनले भोगेका चुनौती

गोरखापत्र

काठमाडाैं

सरोज ढुङ्गेल

काठमाडौँ, पुस २६ गते । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा कार्यरत कविता अधिकारीलाई आफैँले काम गरेको संस्था र कामका बारेमा समाज र आफन्तलाई भन्नसमेत डर थियो । त्यो अवस्था कवितालाई मात्र होइन, कोरोना परीक्षण ल्याबमा काम गर्ने सबैजसो जनशक्तिलाई थियो ।
खासगरी सुरु सुरुका महिनामा कोरोना परीक्षण ल्याबका जनशक्तिले आफू दुःख र कष्टमा परेर भए पनि समाजलाई उज्यालो दिने गरी काम गरे । हुन पनि बन्दाबन्दी (लकडाउन)ले गर्दा घरभन्दा बाहिर निस्कन सक्ने अवस्था थिएन । ल्याबमा काम गर्ने कविता भने सधँैझैँ जनस्वास्थ्य प्रयोगशालामा आउनुपर्दथ्यो । जब घर पुग्ने बेला हुन्थ्यो, उहाँ परिचयपत्र घाँटीबाट झिकेर झोलामा हालेर मात्र घर जानुहुन्थ्यो ।
छिमेकी तथा समाजको ठूलो डर थियो । त्यो बेला कवितालाई म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा काम गर्छु भनेर भन्न सक्ने अवस्था थिएन । चैतदेखि मात्र कविताले राष्ट्रिय प्रयोगशालामा काम गर्न सुरु गर्नुभएको थियो । परिवारको पनि यो महामारीमा जागिर छोड्नु, काम गर्नु पर्दैन भन्ने दबाब थियो तर म त एउटा स्वास्थ्यकर्मी कामै नगर्ने भन्ने विषय कल्पनासमेत गर्न सकिँदैन भनेर नियमित काममा जानुभयो ।
“कोरोना भन्नेबित्तिकै अब मरिन्छ भन्ने डर थियो तर काम गरेँ,” उहाँले भन्नुभयो । कोरोना सुरु हुँदा धेरै स्वास्थ्यकर्मीलाई घरबाट निकालियो । अभद्र व्यवहार खेप्नुप¥यो । कतिले कुटाइसमेत खानुप¥यो । स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गरेको रोक्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेको थियो ।
प्रयोगशालाकर्मी कवितालाई सतुङ्गलबाट स्कुटीमा प्रगोगशालाको परिचयपत्र झुन्ड्याएर निस्कँदा अब कोरोनाले मरिने हो कि भन्ने डर हुन्थ्यो । किनभने कोरोना लाग्नेबित्तिकै मानिस मरिहाल्छ भन्ने भ्रम थियो । चीनमा दैनिक मानिसहरू कोरोनाले गर्दा मरिरहेको समाचार सुनिथ्यो । कोरोना भाइरस (कोभिड–१९) भाइरसको सुरुवात चीनको वुहानबाट भएकाले नेपालमा पनि कोरोना महामारी आउने चिन्ता थियो ।

प्रकाशित मिति: : 2021-01-10 07:34:00

प्रतिकृया दिनुहोस्