देउवाले भने- चुनाव लड्नका लागि तयार हुनुस्

‘जुलुसको भरमा अदालतले निर्णय गर्नुहुँदैन, सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ?’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव लड्नका लागि तयार हुन आफ्ना नेताकार्यकर्तालाई आग्रह गरेका छन्। संसद पुनःस्थापना नभए चुनावमा जानुपर्ने बताउँदै उनले उक्त आग्रह गरेका हुन्।

संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले  यो मुद्दा अदालतमा विचाराधिन रहेकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने बताए।

‘अदालतले जे निर्णय गर्छ, त्यो मान्नुपर्छ, अदालतलाई प्रभावित गर्नुहुँदैन। तर संसद पुनर्स्थापना भएन भने चुनाव हुने अवस्था आउँछ, चुनाव गराउन दबाब दिनुपर्छ। चुनाव लड्नका लागि तयार हुनुपर्छ,’ उनले भने

अदालतले मध्यावधिमा जाने ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने सभापति देउवाले बताए। उनले भने, ‘जुलुसको भरमा अदालतले निर्णय गर्नुहुँदैन। अदालतले विवेक पुर्‍याउने हो। हामीले अदालतको निर्णय पर्खिनुपर्छ। अदालतको निर्णय कांग्रेसले मान्छ। सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ?’

तर अदालतले संसद विघटनलाई सदर गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको उनले बताए।

उनले भने, ‘अदालतले संसद विघटनलाई सदर गरे प्रचण्ड–नेपालले पनि चुनावमा भाग लिन्छन्।’

उनले अदालतले जे फैसला गरे पनि संसद विघटन गराउने ओलीको कदमलाई आफूहरुले असंवैधानिक भनेको दोहोर्‍याए।

‘संविधानमा के लेखिएको छ, के भन्छ? भन्ने कुरा अदालतले भन्ने कुरा हो। मोटो आँखाले हेर्दा ओलीको कदम प्रजातन्त्र विरुद्धको कदम हो, संविधान विरुद्धको कदम हो,’ उनले भने।
 

प्रकाशित मिति: : 2021-01-09 17:05:00

प्रतिकृया दिनुहोस्