सरकार आकाशेपुलको ठेक्का तन्काउँछ, नागरिक सडकमा ज्यान गुमाइरहन्छन्‌

थाहा खबर

काठमाडाैं

काठमाडौं : नयाँ बानेश्वर थापागाउँका मनमाया चौलागाईं शङ्खमूलको एक होटलमा काम गर्छिन्। उनी पैदल यात्रा गर्दै नयाँ बानेश्वर चोक पार गरेर काम गर्न जान्छिन।

नयाँ बानेश्वर चोकमा सवारी जाम अत्यधिक हुन्छ। कारण कम्तीमा ३ मिनेट उभिनुपर्छ। दुवैतिरको सवारीसाधन रोकिएपछि बल्ल उनी चोक पार गर्छिन्। यो उनको रहर होइन, बाध्यता हो। किनकी, बिना अवरोध सडक पार गर्न त्यहाँ आकाशेपुल हालिएको छैन। निर्माणाधिन आकाशेपुल कहिले बनिसक्छ : थाहा छैन।

बिहिबार सडक पार गर्न भीडमा उभिइरहेकी मनमायाले  भनिन्‌, ‘पैदल यात्रुका लागि आकाशेपुल नहुँदा यसैगरी रोकिनुपर्छ, ट्राफिकले जानु भनेपछि बल्ल पार गर्नुपर्छ।’

उनी होटलमा काम गर्न दिउँसोको १२ बजे पुग्नुपर्छ। तर, कहिलेकाही यस्तै समस्या कारण उनी ढिला पुग्छिन्‌। ‘आकाशेपुल निर्माण थालेको तीन वर्ष हुन लागिसक्यो, खै अहिलेसम्म पिलरमात्रै ठड्याइएको छ,’ उनले भनिन्‌, ‘पुल नहुँदा ज्यान नै जोखिममा पारेर जेब्राक्रसबाट सडक पार गर्नुपर्छ। सवारीसाधन हुर्रिएर आउँछन्‌, सडक काट्दै गर्दा पारी पुग्दासम्म म ज्यूँदै हुन्छु कि हुन्‍न भन्ने सोच्नुपर्छ।’

बानेश्वरमा आकाशेपुल निर्माण गर्न सडक डिभिजन कार्यालय काठमाडौं र प्राकृतिक/पवन/जेभीसँग २०७५ चैत २५ गते नै ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार ४ करोड रुपैयाँ निर्माण थालिएको यो आकाशेपुल २०७६ पुस मसान्तसम्ममा ठडिइसक्नुपर्ने हो।

तर, म्याद सकिँदा पनि ठेकेदारले अहिलेसम्म बल्लतल्ल पिलर मात्रै ठड्याएको छ। निर्माणकार्य ठप्‍प छ। पैदल यात्रुको सकस कायमै छ।

यता, डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर सोम्या आनन्द भने फिल्डमा काम भैरहेको जवाफ दिन्छिन्‌। आकाशेपुल निर्माणबारे जिज्ञासा राख्दा उनले भनिन्‌,‘काम रोकिएको छैन, पु माथि स्टीलको संरचना हाल्नुपर्ने भएकोले फ्याक्ट्रीमा बनाइँदैछ।’

प्रकाशित मिति: : 2021-01-09 12:08:00

प्रतिकृया दिनुहोस्