प्रधानमन्त्री ओलीसँग अब ‘साइबर सेना’

अनलाइनखबर

काठमाडाैं

२३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकको गतिविधि र उनीहरुले सामाजिक सञ्जालमा प्रकट गर्ने अभिव्यक्तिले अनेक किसिमका संज्ञा पाउने गरेका छन् ।

दुईतिहाइ नजिकको संसदीय बहुमतसहित ओली प्रधानमन्त्री बनेपछि उनका समर्थकहरूका लागि प्रयोग हुने चल्तीका शब्दहरू हुन्– अरिगांल । ओलीको प्रतिरक्षामा उत्रने समर्थकहरुका लागि ‘हनुमान’ र ‘अरिगांल’ शब्द प्रयोग सामान्य बनेका बेला केही दिन अगाडि पूर्वगृहमन्त्री भीम रावलले आफूलाई ओलीका ‘साइबर सेना’ले बदनाम गराउन खोजेको अभिव्यक्ति दिए । त्यसपछि नेकपा ओली समूहका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले ‘साइबर सेना’ बन्ने/बनाउने घोषणा नै गरे । 

मंगलबार म्याग्दीको बेनी पुगेका बस्नेतले अब वाईसीएल वा युथ फोर्स होइन, साइबर सेना बन्ने बताउँदै आफ्ना पक्षका कार्यकर्तालाई जिल्ला तहमा त्यसको संरचना बनाउन निर्देशन पनि दिए । म्याग्दी र अन्य जिल्लामा जाँदा पनि उनले यस्तै निर्देशन दिएका छन् ।

बस्नेतले पार्टीले बनाउन लागेको साइबर सेना युवा संघको विभागीय संरचनाको रुपमा रहने अनलाइनखबरसँग बताए । पार्टी संरचनामै राखिने साइबर सेनाले पार्टी नेता–कार्यकर्ताविरुद्व सिर्जना गरिएको भ्रमलाई जोडदार रुपमा चिर्ने उनले बताए । उनले भने, ‘पार्टी केन्द्र र युवा संघका अध्यक्षले खटाएको युवा इन्चार्जबाट साइबर सेना सञ्चालित हुनेछ ।’

अर्थात्, नेकपा विभाजनअघिको राष्ट्रिय युवा संघका इन्चार्ज बस्नेत र पार्टी विभाजनपछि ओली समूहका युवा संघको नेतृत्व गरिरहेका रमेश पौडेलले साइबर सेना परिचालन गर्नेछन् ।

प्रकाशित मिति: : 2021-01-08 08:29:00

प्रतिकृया दिनुहोस्