योगेश र घनश्यामले आरोप लगाएझै के भीम रावल र माधव नेपाल सीआईएका सुराकी हुन्? 

नेकपाको आन्तरीक विवाद चर्किएपछि विभाजित प्रचण्ड–माधव गुट एकातिर र ओलीगुट अर्कोतिर छ। एकगुटले अर्को गुटलाई आरोप प्रत्यारोप लगाइरहेका छन्। 

यसैबीच बेलाबेलामा प्रधानमन्त्री ओलीसँग सिधै टक्कर लिन नसकेपछि प्रचण्ड–माधव गुटका नामले चिनिएका पूर्वमन्त्री भीम रावलले एउटा अनलाईनमा ‘रेललाई कात्रो ओढाई राखिएको’ भनेर आफूलाई चर्चामा ल्याएका छन् । कहिले प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले ‘ज्यान मार्ने धम्की’ दिएको भनेर चर्चामा ल्याउँछन्।

यतिबेला उनले प्रधानमन्त्रीलाई तारो हानेर निशाना रेल्वेका महाप्रबन्धक गुरु भटृराईमाथी साँधेका छन् । यसै पनि बिखण्ड्न र अस्थिर राजनीतिमा प्रचण्ड जसरी रमाउने बानी परेका भीम रावललाई चिन्न टाढा जानुपर्दैन । उनका गतिविधि हेरे पुग्छ। प्रधानमन्त्रीले बिखण्ड्नकारी नामले चिनिएका सीके रावतलाई सुधारेर राष्ट्रिय राजनीतिमा ल्याउन सम्झांैता गर्दैगर्दा उनले विरोध गरे। कोही कसैलाई सुधार्न र सुध्रिन मौका दिननहुने भीम रावलको मत थियो ।

किन रिसाए प्रधानमन्त्रीसँग भीम रावल ?

ओलीको राष्ट्रवादी छवीसँग भीम रावल पनि चर्चामा थिए । ०७२ सालमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री नियुक्त भैसकेपछि उनी ओलीका विश्वासपात्र थिए । प्रचण्ड र नेपाली कांग्रेससँग ‘डील’ गर्नुपर्दा ओलीले रावललाई अघि सार्थे । भारतले नाकाबन्दी गरेको बखत पनि ओलीलाई रावलको साथ थियो ।

त्यतिबेला पार्टीका उपाध्यक्षसमेत रहेका रावल प्रचण्डका कडा आलोचक थिए । पार्टी एकीकरण भएपछि आफूलाई सचिवालयमा राखिनुपर्ने उनको जिकिर थियो। विष्णु पौडेल, नारायणकाजीहरू पर्दा आफू पनि पारिनुपर्ने उनको रायलाई ओलीले टेरेनन् । त्यसपछि रावल ओलीको कडा विरोध गर्न उत्रे ।
रावलमाथिको त्यो आरोप?

०५५ सालमा कांग्रेस–एमालेको सरकारमा पर्यटनमन्त्री भएका भीम रावललाई भ्रष्टचार गरेको आरोप लागेको थियो । रावलले बिकेमान सिंहलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाएपछि बिनाटेण्डर चाइना साउथवेस्ट एयरलाइन्ससँग विमान भाडामा लिने सम्झौता गरेका हुन् । त्यसमा निगमले २२ करोड घाटा ब्यहोरेको थियो ।

सोही वर्ष नारायण ढकाल, योगेश भटृराई, घनश्याम भुसाललगायतले भीम रावललाई चाइना साउथवेस्टमा भ्रष्टचार गरेको ‘५१ जना अपराधका’ सूचीमध्ये आठांै नम्बरमा रावललाई राखेका थिए, उनीहरूका किताबमा । किताबका अनुसार अनुसार चाइना साउथ एयरलाइन्ससँग प्रति उडान घण्टा २ हजार ५ सय ५० डलर पर्नेलाई ३ हजार १ सय ५० डलरमा एकवर्षका लागि सम्झौता गरी १४ करोड रुपियाँ कमिसन खाएको लेखिएको थियो । सो कुराको विरोध गर्ने पाइलटलाई भीम रावलले कारवाही गरे । पाइलटहरू हडतालमा उत्रे, जसबाट नेपाल एयरलाइन्सलाई ५० करोड घाटा भएको जनाइएको छ । 

माधव नेपालसँगको त्यो फिक्सिङ! 

सो समयमा उपप्रधानमन्त्री माधव कुमार नेपालसँग मिलेर रावलले ६ करोड घुस खाएको आरोप योगेश र घनश्यामहरूको थियो । नारायण ढकालहरूको ‘५१ अपराध’ भनेर लेखिएका किताबको १७ नम्बरमा भनिएको छ–‘कांग्रेसी सरकारले दिनेश धमिजालाई आरएनएसीको युरोपको २ वर्षका लागि दिएको जिएसएबाट संस्थानलाई ठूलो घाटा भएको थियो। पछि भीम रावल मन्त्री बनेपछि मुद्दा मिलापत्र गराउने नाममा ६ करोड घुस लिई १८ करोड रुपैयाँ उल्टै दण्ड तिर्नुपर्ने गरि संस्थानलाई डुबाई सो रकम पनि पार्टीमा नबुझाई महासचिब माधव नेपाल र पर्यटनमन्त्री भीम रावलले भ्रष्टचार गरे’ भनिएको छ । 

के भीम रावल र माधव नेपाल अमेरिकी गुप्तचर संस्थाका सुराकी?

यसैगरी सोहि किताबको १८ औं नम्बरमा ‘तत्कालीन पर्यटनमन्त्री भीम रावलले माधव नेपालको निर्देशनमा नेपालका तीनवटा हिमशिखर आरोहण गर्ने नाममा त्यहाँ अत्याधुनिक उपकरण जडान गरी साम्राज्यवादलाई चीनबिरुद्ध जासुसी गतिविधि सञ्चालन गर्न चार लाख अमेरिकी डलर कमिसन खाई अमेरिकी गुप्तचर संस्था सिआईएलाई स्वीकृति दिई साम्राज्यबाद र प्रभुत्ववादको निर्देशनमा चीन विरोधी क्रियाकलाप गर्ने वातावरण मिलाईदिए’ भनिएको छ। यसरी भीम रावलको पर्दापछाडिको खेल सार्वजनिक गर्ने तिनै योगेश भटृराई र घनश्याम भुसाल अहिले माधव–प्रचण्ड गुटमा छन् । 

विश्वका संवेदनशील दस्तावेज प्रकासित गर्ने संस्था विकिलिक्सले नेपालमा रहेको अमेरिकी दूतावासलाई सहयोग पुराउने वा घनिष्ट सम्बन्ध राख्ने केही नेताको नाम सार्वजनिक गरेको थियो । त्यसमा भीम रावलको पनि नाम थियो । रावलले अमेरिकीलाई सहयोग गर्थे वा गरेनन् आधिकारीक भने छैन। यद्यपि अहिले एमसीसीको बिरोध गरेबाट यो तथ्य भ्रमपूर्ण भने देखिन्छ । 

पटकपटक गरी सातपटक मन्त्री र उपप्रधानमन्त्रीसमेत भैसकेका रावलले खासै प्रभावकारी काम भने गर्न सकेका छैनन् । रक्षामन्त्रीजस्तो जिम्मेवारी सम्हालेका रावल राष्ट्रियताको विषयमा खरो उत्रेपनि मन्त्रालयमा जिम्मेवारी पाउँदा चुप बस्ने गर्दछन् । जस्तो कि भारतले कालापानी, लिम्पुयाधुरा र लिपुलेक आफ्नो नक्सामा पार्दा केही कदम चाल्न सकेनन् । भारतीय सेनाले कालापानी कब्जा जमाउँदा रावल रक्षामन्त्री थिए, उनले खासै चासो दिएनन् । तर जब उनी सत्ता बाहिर रहे उनको स्वर राष्ट्रवादी मुद्धामा बुलन्द रहयो। 
प्रधानमन्त्रीको रिस रेल्वे महाप्रबन्धक माथि 

नेपालीमा एउटा उखान छ– ‘सौताको रिसले लोग्नेको काखमा सुसु गर्ने’। यस्तै, प्रधानमन्त्रीको रिस रावलल रेल विभागका महाप्रबन्धक गुरु भटृराइमाथि पोखेका छन् । उनले हालै एउटा मिडियामा ‘रेललाई कात्रो ओढाएर राखिएको’ भनेर आलोचना गरे । जयनगर–बर्दिबास ६९ किमी रेल संचालनका लागि महाप्रबन्धक भटृराइ चौबिसै घण्टा खटेको यस पंक्तिकारलाई थाहा छ। 

पेशाले इन्जिनियर भटृराईले विदेशमा महिनाको बीसलाख आउने आकर्षण जागिर छाडेर देशको सेवाका लागि फर्केका मान्छेलाई ओलीले मौका दिएका थिए । सो मौकालाई सदुपयोग गर्न उनी रेल ल्याउन रातदिन भोकभोकै खटेका छन्। उनीसँग हिँड्ने जो कोही भोकै मर्नुपर्ने हुन्छ भन्ने गरेको कुरा हिँड्नेलाई थाहा छ। ओलीका पक्षमा खरो टिप्पणी गर्ने भटृराईमाथि खनिनु ‘मुतको न्यानो’ मात्र हो । नेपालले रेल अर्डर गरेको २१ मार्च २०१९ मा हो ।

९ महिनामा रेल तयार भएपनि तत्कालिन मन्त्रीले वास्तै गरेनन् । भीम रावल संसदीय समितिमा थिए, उनले त्यस विषयमा आवाजै उठाएनन्। तयारी रेल थन्किरह्यो। रेल संचालन गर्नुअघि प्राबिधिक कर्मचारी, रेल सर्भिसिङ गर्ने व्यवस्था, रेलमार्ग मर्मत, उपकरण, रेल चलाउन आवश्यक जनशक्ति, अफिस, व्यापारिक योजना आदिबारेमा कहिल्यै सोच्दै नसोच्ने, दुई–दुई वर्षसम्म वास्तै नगर्ने। तर, गुरु भटृराइको नियुक्ती भएपछि उनको कामका बारेमा फिल्डमा नगई सतही टिप्पणी गर्नु रावलको  बौद्धिक दरिद्रता हो । एउटा कर्मचारी पनि नभएको कार्यालयमा ६ महिनाअघि नियुक्ती भएका एउटा मान्छेले रेल नेपालमा ल्याएर अन्य प्राबिधिक समुह बनाउँदै गर्दा आलोचना गर्नु गलत हो ।  

आफ्ना जिल्लामा सिन्को नभाँच्ने ?

भीम रावलले प्रश्न उठाउँदा, उनीमाथी पनि प्रश्न उठ्न सक्छ भन्ने हेक्का किन राखेनन्? सुदूरपश्चिमका प्रभावशाली नेता, पार्टीका उपाध्यक्ष र रक्षा, गृह जस्ता मन्त्रालयलगायत सातपटक मन्त्री भइसकेका उनले ६० वर्षदेखि आफ्नो क्षेत्रमा भारतले मिचेको सीमाका बारेमा कहिल्यै बोलेनन् । बरु ऋषिराज लुम्सालीहरू बोले । मुलुकको सबैभन्दा बढी एचआइभी पोजेटिभ भएको उनको जिल्ला हो, जहाँ उनले स्वास्थ्यसम्बन्धि केही काम गरेका छैनन्। छाउपडी, कुपोषण, अन्धविश्वास र बालविवाहले जकेडेको जिल्ला हो, उनको। यसलाई रोक्न रावलले खेलेको योगदान केही देखिदैन।  

रेलको गति 

अहिले जयनगरमा प्लेटफर्म निर्माण गरेर कर्मचारी आवासगृह बनाइसकिएको छ । रेलमार्ग पर्ने नेपाल पक्षको खजुरी, बैदेही, महिनाथपुर, जनकपुर, कुर्था, खुटृापिपराढी, लोहरटृी भङ्गाहालगायत एकदर्जन स्टेशनको निर्माण हुदैछ। रेल संचालनमा ल्याउन सन् २०१० मा भारत र नेपाल सरकारबीच सम्झौता भएको थियो। सम्झौता भएको १० वर्षसम्म कानमा तेल हालेर बसेका सरकार र सम्बन्धित मन्त्रालयमा जब भटृराइको नियुक्ती भयो, त्यसपछि मात्र यसले गति लिन थालेको हो । 
 

प्रकाशित मिति: : 2021-01-08 08:28:00

प्रतिकृया दिनुहोस्