महावैमा खरको छानामुक्त अभियान

सांकेतिक तस्बिर

कालिकोटको महावै गाउँपालिकाले गाउँलाई खरको छानामुक्त बनाउने अभियान शुरु गरेको छ । 

आर्थिक अवस्था कमजोर भएका विपन्न तथा खरको छानामा बस्ने परिवारलाई खरको छानामुक्त अभियान थालेको हो । 

गाउँपालिकाले रकम अभावमा जस्तापाता खरिद गर्न नसकेर खर तथा परालले छाना छाउँदै आएका नागरिकको घर गाउँपालिकाले जस्ता पाताले छाइदिन थालेको हो । 

हावाहुरी चले खरको छानो उडाउने, आगलागी हुने र टिकाउ नहुने भएकाले खरको छानामुक्त अभियान थालिएको गाउँपालिका अध्यक्ष नन्दबहादुर सिंहले  बताए । 'पहिलो चरणअन्तर्गत गाउँपालिकाले अनुदान दिएर वडा नं ७ र ८ यो अभियान शुरु गरेको छ' उनले भने, 'यो अभियान क्रमशः गाउँभरि लागू हुनेछ ।'

गाउँपालिकाभरि ३० प्रतिशत घर खरको छाना भएको र ती हटाउनका लागि गाउँ कार्यपालिकाको निर्णयानुसार खरको छानामुक्त अभियान थालिएको गाउँपालिकाका उपाध्यक्ष मनराज शाहीले बताए । 'यो कार्यक्रम सङ्घ, प्रदेश र स्थानीय तह सबैले सञ्चालन गरेका छन्' उनले भने, 'गाउँपालिकाले तीनै तहका सरकारको सहयोगमा यो अभियान सञ्चालन गरिएको छ ।'

खरको छाना भएका घर निकै जोखिममा रहेको र यसले मानवीय तथा धनजनको क्षति बढी गराउने भएकाले खरको छानामुक्त अभियानको आवश्यकता देखिएको उपाध्यक्ष शाहीले बताए । 'खरका छाना भएका घर विपत्तिको जोखिममा छन्”, उहाँले भन्नुभयो, “धनजनको हुने क्षति बचाउनका लागि खरको छाना हटाएर जस्तापाताको छाना राख्नेछौँं ।' रासस 
 

प्रकाशित मिति: : 2021-01-07 16:37:00

प्रतिकृया दिनुहोस्