अमेरिकी निर्वाचन २०२०: संसदकाे संयुक्त बैठकद्वारा वाइडन र ह्यारिसको जित प्रमाणित

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकी संसदकाे संयुक्त बैठकले जो वाइडन र कमला ह्यारिसको जितलाई प्रमाणित गरेको छ। संसद‌ले प्रमाणित गरेपछि अब वाइडनलाई जनावरी २० मा हुने शपथग्रहण गर्ने बाटो खुल्ला भएको छ। 

इलेक्टोलर मतगणनापछि उपराष्ट्रपति माइक पेन्सले वाइडनले ३०६ र ट्र्म्पले २३२ इलेक्टोरल मत प्राप्त गरेको घोषणा गरेका थिए।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक हुन्छ। संसद‌मा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकनले चुनौती दिएको भए पनि ती दुईतिहाइले पारित भएनन्।

संसदकाे संयुक्त बैठक राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले बलपूर्वक संसद भवनमा प्रवेश गरेका कारण केही बेर अवरुद्ध भएको थियो। इलेक्टोरल मतबारे नेभाडा, मिशिगन, विस्कन्सिन र जोर्जियाका सांसद्हरूको चुनौती भने सिनेट सदस्यको हस्ताक्षरको अभावमा तुहिएको थियो।

यसअघि जोर्जियाका दुवै सिनेट सिटमा रिपब्लिकनलाई हराउँदै वाइडनको डेमोक्र्याटिक दलमा उम्मेदवार विजयी भएका छन्।राफेल वारनक र जोन ओस्अफले सिनेटर रहेका केली लोफलर र डेभिड पर्डुलाई हराएका हुन्। जोर्जियाको निर्वाचनमा ४० लाखले मतदान गरेको बताइएको छ।

वारनक जोर्जियाबाट निर्वाचित हुने पहिलो अश्वेत र अमेरिकी सिनेटमा हालसम्मकै एघारौँ अश्वेत सदस्य हुन्। दुवै विजयमा मतान्तर झीनो भए पनि रिपब्लिकनहरूको नियन्त्रणमा रहेको जोर्जियामा डेमोक्र्याटिक दलको जित ट्रम्पको लागि नराम्रो झट्का हो।

यो विजयसँगै डेमोक्र्याटिक दलको माथिल्लो सदन सिनेटमा पनि बहुमत हुने भएको छ। सन् २००९ यता पहिलो पटक डेमोक्र्याटिक दलको नियन्त्रणमा संसद‌को माथिल्लो सदन, तल्लो सदन र ह्वाइट हाउस हुने भएको छ।

प्रकाशित मिति: : 2021-01-07 15:00:00

प्रतिकृया दिनुहोस्