एचआइभीको औषधि वितरणको विषयमा बाराको कलैया अस्पतालमा विवाद भएको छ।
कलैया अस्पतालको एआरटी शाखामा उक्त औषधि वितरणको विषयमा विवाद भएको उक्त शाखा प्रमुख कमलेश यादवले बताए।
उनका अनुसार एचआइभी संक्रमित व्यक्तिलाई औषधि नदिदा विवाद भएको हो। एचआइभीबाट ग्रसित रहेका संक्रमितले खोप लगाउन आउँदा उनीहरुको गोपनियतालाई यादवले भंग गर्ने गरेको ब्लुडाईमण्ड सोसाइटी बाराकी पूर्णिमा श्रेष्ठले बताइन।
उनीहरुको गोपनियतालाई कायम राख्नको लागि शाखा प्रमुख यादवले अवैध रकम असुल्ने गरेकोसमेत श्रेष्ठ बताइन्।
अस्पतालमा आउने नयाँ एचआइभी संक्रमितलाई यादवले औषधि दिन आनाकानीसमेत गर्ने गरेका छन् भने उनले संक्रमित व्यक्तिसँग १० देखि १५ हजारसम्म अवैध रुपैयाँ लिने गरेका छन्।
संक्रमित व्यक्तिले पैसा नदिदा डा यादवले उनीहरु गोपनियतालाई भंग गरिदिँदा कतिपय एचआइभी संक्रमितहरु चाहेर पनि अस्पताल नजाने गरेको श्रेष्ठले बताइन्।
तर अस्पतालका शाखा प्रमुख डा यादवले अन्य जिल्लाबाट औषधि सेवन गरीहेका संक्रमितले पुनः यो जिल्लाबट सुरुदेखि नै औषधी लिन खोज्दा आफूले नदिएपछी विवाद भएको बताए।
उनले भने,‘अन्य जिल्लामा दर्ता भई औषधी सेवन गरिरहेकाहरुलाई औषधि दिन मिल्छ। तर, फेरी सुरुदेखि दिन मिल्दैन। सुरुदेखि औषधि दिर्नैपर्ने दबाव आयो, मैले मिल्दैन भने। अनि मलाई कुटपिट गर्न आएपछी विवाद भयो।’
अन्य जिल्लाबाट आएका बिरामीहरुलाई पुनः सुरुदेखि औषधी उपलब्ध गराउन दबाब दिँदै आफुहरु पटकपटक ब्लुडाईमण्ड सोसाइटीको प्रतिनिधिहरुले दुव्यर्वहार गर्ने गरेको यादवले गुनासो गरे। घटनाका सम्बन्धमा बिहीबार अस्पतालमा बैठक बोलाइएको छ।