दाङ – बबई नदी अलि पर थियो। नदीको तिरमा घरहरु थिए। ठूलो बाढी आएको इतिहास २०७१ साल भन्दा अघि थिएन। त्यही भएर बबई गाउँपालिका–१ धोवाघाटका प्रेमबहादुर डाँगी बबई नदीको बाढी ठूलो नआउनेमा ढुक्क थिए ।
तर, २०७१ साल साउन २७ गते देखि २९ गतेसम्म लगातार झरी पर्यो । त्यो झरीले अहिलेसम्मकै ठूलो बाढी बबई नदीमा आयो । डाँगीको घर, गोठ सबै लग्यो । धोवाघाटमा लस्करै १४ घर थिए । सबै बबई नदीको बाढीले लगेपछि डाँगी विस्थापित भए । पाल टाँगेर दिनहरु कटाउनु पर्यो ।
‘सोच्दै नसोचेको विपत्ति आइलाग्यो । उतिबेला खाने अन्न समेत बचेको थिएन । हेलिकोप्टरबाट राहत आइपुगेको थियो’ उनले विगत सम्झदै भने–‘बर्खा सिजन सुरु हुँदा विगतको त्रासदीको याद अझै आउँछ ।’
बाढीकै कारण विस्थापित भएका मध्ये ११ जना त धोवाघाट गाउँ नै छाडेर अन्यत्र बसाइँ सरेका छन । ४ घरको बसाइँ यही गाउँमा छ । ‘मानिसहरु बाढीले सताएपछि थातथलो नै छाड्ने अवस्था आयो । घर खेत बगायो । बाढीबाट बचेको केही जग्गा जमिनका कारण हामी अहिले पनि यहीँ गाउँमा छौँ’, डाँगीले भने, ‘बाढीले ठूलो पाठ सिकाएर गयो ।’
बाढीको उच्च जोखिममा भए पनि धोवाघाटका मानिसलाई थाहा थिएन । तत्कालिन समयमा कुनै विपद् जोखिम न्यूनिकरणको बारेमा कार्यक्रम पुगेको थिएन । सामुदायिक विपद व्यवस्थापन समिति गठन गरेर त्यसको नेतृत्व सम्हालेका डाँगीले गाउँमा विपद् जोखिम न्यूनिकरणको बारेमा अरुलाई सिकाउनेसम्मको क्षमता विकास गरेका छन् ।