पुस लागेसँगै ७३ वर्ष कटे पनि सिराहाको धनगढीमाई नगरपालिका– १२ मुसहरबस्तीकी कुसमादेवी सदायले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाएकी छैनन् । पटकपटक कोसिस गर्दा पनि नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता मात्रै होइन, अन्य सरकारी सेवाबाट पनि वञ्चित भएकी छिन् । ‘नागरिकता छैन भनेर केही पनि दिँदैनन्,’ वृद्धा कुसमादेवीले गुनासो गरिन् ।
बुधन सदायसँग बिहे गरेपछि उनी ६ दशकअघि छिमेकी गोलबजार नगरपालिका– ३ तेतरियाबाट मुसहरबस्तीमा आएकी थिइन् । ३० वर्षअघि उनका पति बुधनको मृत्यु भयो । त्यसअघि खासै आवश्यकता नपरे पनि त्यसपछि सामाजिक सुरक्षा भत्ताका लागि नागरिकता बनाउन खोजेकी थिइन्, तर श्रीमान्को मृत्यु भएकाले शारीरिक रूपमा अपांगता भएकी उनले पनि नेपाली नागरिकताको प्रमाणपत्र पाउन सकिनन् । ‘श्रीमान्को मृत्यु भएकाले मेरो नागरिकता बनाइदिएनन्,’ उनले दुःखेसो गरिन् ।
उनका श्रीमान्को नागरिकता थिएन, त्यसपछि उनको पनि बनेन । कुसमादेवीको नागरिकता नहुँदा उनका तीन छोराको पनि नागरिकता बनेको छैन । छोराछोरीको नागरिकता बनाउन आमा वा बुबाको नागरिकता चाहिने भएकाले उनका तीन छोरा पनि अनागरिक नै छन् । नागरिकता नहुनुको पीडा उनले त भोगेकी छन् नै उनका नातिनातिनी पनि समस्यामा परेका छन् । ‘छोराहरूको नागरिकता नहुँदा नातिनातिनीको जन्मदर्ता हुन सकेको छैन,’ उनले पीडा सुनाइन्, ‘जन्मदर्ता नहुँदा स्कुल भर्ना गर्न पनि पाइएको छैन ।’
जेठो छोरा ३० वर्षीय बिल्टु अविवाहित छन् भने माइलो २५ वर्षीय चिल्टुका दुई छोराछोरी छन् । त्यस्तै, कान्छो २३ वर्षीय तुलसीको एउटा छोरा छ । तीनैजना मजदुरी गरेर दैनिकी चलाइरहेका छन् । आमाको नागरिकता नहुँदा चिल्टु र तुलसीको नागरिकता बनेको छैन । उनीहरूको नागरिकता नहुँदा विवाह दर्ता भएको छैन । विवाह दर्ता नभएका कारण तीन छोराछोरीको पनि जन्मदर्ता गर्न सकेका छैनन् ।