अहिले सञ्चार माध्यमलगायत विचार निर्माण गर्नेहरूले दुईवटा गल्ती गरेको देखियो । पहिलो शेरबहादुर देउवाको दानवीकरण र अर्को केपी ओलीलाई गाली गर्ने क्रममा पुष्पकमल दाहाल र माधवकुमार नेपालको सबै खतबात माफ ।
मूलतः शेरबहादुर देउवा कम्युनिस्टहरूको बुई चडेनन् भनेर अहिले उनलाई खलनायक बनाउन खोजिएको छ । यो पटक्कै न्यायोचित होइन । ओलीको नियत चुनावै नगराउने देखियो र त्यतिबेला पनि देउवा यसरी नै गोलमटोल भाषामा बोल्न थाले भने उनलाई नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीबाट निकालिदिए पनि अन्याय हुँदैन । अहिले नै पनि देउवाले प्रतिनिधि सभा भङ्ग गर्नु ठीक हो भनेका हुन् भने उनलाई सामाजिक बहिष्कारै गरे हुन्छ । तर, उनले नगरेको अपराधका लागि सजाय दिनु अन्याय हुन्छ । प्रतिनिधि सभा विघटन यसपटक त देउवाले गराएका हैनन् नि ।
पुष्पकमल दाहालले दिएको धोका अरूले बिर्से पनि देउवाले कसरी बिर्सेलान् र ? बोधविक्रम अधिकारीको नेपाली दन्त्यकथामा संकलित ‘बिसेमिराको कथा’को भालुले जसरी धोका पाएका देउवाले दाहाललाई कसरी विश्वास गर्ने ?
आन्दोलनमा अगाडि नसरेको भनेर शेरबहादुर देउवालाई सामान्य नागरिकहरू वा उनकै पार्टीका साथीले पनि आलोचना गर्नु सुहाउला । तर, कम्युनिस्ट र राजावादीले देउवासँग किन सहयोगको अपेक्षा गर्ने ? अनि तिनैको लहै लहैमा सञ्चारकर्मी र कांग्रेसजन किन देउवाको खोइरो खन्न धुरिएका हुन् ?