महामारीबीच खुलेका रात्रिकालीन व्यवसायमा खै सावधानी?

देखापढी

काठमाडौँ

कृष्णसिंह धामी

गत चैतबाट बन्द रहेका रात्रिकालीन व्यवसाय सञ्चालनमा आए। पर्यटन मन्त्रालयले त्यसका लागि आवश्यक मापदण्ड तयार पारेको थियो। सोही आधारमा डान्सबार, क्लब, दोहोरी साँझहरू खुलेका हुन्।
 
व्यवासायीहरूको चर्को दबाबमा सरकार रात्रिकालीन व्यवसाय खोल्न बाध्य भएको थियो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले आवश्यक मापदण्ड बनाएर रात्रिकालीन व्यवसाय सूचारू भइरहेको बताए। 

ग्राहक बस्ने सिटहरू मिलाएर राख्ने, स्यनिटाइजरको प्रयोग गर्ने, अनिवार्य मास्क लगाउने, ज्वरो नाप्नेलगायतका मापदण्ड अपनाएर मात्र व्यवसाय खोल्न दिइएको उनको भनाइ छ।

मापदण्ड पालना भए नभएकोबारे अनुगमन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक अनुगमन समिति बनेको छ। उक्त समितिले रात्रिकालीन व्यवसायले मापदण्ड पालना गरे वा नगरेकोबारे अनुगमन गर्ने र पालना नगरेको खण्डमा बन्द गराउने प्रजिअ पराजुलीले बताए।
 
तर, रात्रिकालीन व्यवसाय भने मापदण्डअनुसार नै सञ्चालनमा आउन सकेका छैनन्। जुन कुरा प्रजिअ पराजुलीलेसमेत स्वीकार गरेका छन्। काठमाडौंका विभिन्न ६ वटा ठाउँमा अनुगमनको क्रममा केहीले मापदण्डको पालना नगरेको पाइएको थियो। उनीहरूलाई मापदण्ड पालना गरेर मात्र चलाउन निर्देशन दिइएको थियो।

तर, व्यवसायीहरू भने मापदण्डअनुसार अगाडि बढ्न सम्भव नहुने बताउँछन्। क्लब तथा डान्स बारमा रमाइलो गर्न आएका ग्राहकहरूबाट सबै मापदण्ड पालना गराउन सम्भव नहुने उनीहरूको भनाइ छ।

प्रकाशित मिति: : 2020-12-31 11:54:00

प्रतिकृया दिनुहोस्