१९३० सालतिर फर्केर हेर्दा पूर्वी (तराई चुरे भावर) क्षेत्रको चारकोसे जंगल घनघोर बाक्लो थियो। न अहिलेजस्तो मानव बस्ती थियो, न पूर्वपश्चिम राजमार्गमा चर्को ध्वनि निकाल्दै सवारी गुड्थे। त्यसबेला जंगलमा हात्ती, बाघलगायत जनावर बेपरवाह डुल्थे।
नेपाल-भारत सीमा क्षेत्र भए पनि त्यो जनावरका लागि लागू हुँदैन। उनीहरू भौगोलिक सीमामा नबाँधिई निस्फिक्री चरिचरनका लागि निस्किने गर्छन्। नेपालका दुुई प्रमुख गन्तव्य पूर्व र पश्चिममा छन्। पूर्वी क्षेत्रमा भारत आसामबाट पश्चिम बँगाल हुँदै पूर्वीनाका झापाबाट कोशीटप्पु क्षेत्रमा हात्ती आउने गर्छन्।
पश्चिममा भने कपिलवस्तुदेखि कञ्चनपुरसम्मको बाँके, बर्दिया र दाङआपासका भूभाग हुन्। परापूर्वकालदेखि पुर्खा हिँडेको गोरेटो पहिल्याउँदै आउने हात्ती पुस्तौंपछि पनि त्यही गोरेटो हिँड्ने बताउँछन् हात्ती-मानव द्वन्द्व विषयमा विद्यावारिधि गर्दै गरेका हात्तीका जानकार अशोक राम।
उनका अनुसार हात्तीले आफ्नो बाटो हिँड्दै गर्दा मानिससँग जम्काभेट भएर कसैले जिस्क्याए वा लखेटे रिसाउँछन्। यस्तो बेला मानिस मार्नसमेत सक्छ। जंगली हात्ती निश्चित समयपछि पुनः आफ्नो पुरानै थलोमा फर्किन्छन्। तर, कोही अपवाद हुन्छन्, जो आफ्नो थलोमा नगएर नयाँ चरिचरन क्षेत्र बनाउँछन्। नयाँ ठाउँमा रमाउँछन्।