‘सुनतारु हो, नन्हकी के गाँती ना बान्ह द, ना त ठंडा से मियाज नु खराब हो जाई’, पर्सा, बारा र रौतहटलगायत मधेशको गाउँ–देहातमा सतर्कतासम्बन्धी स्वरहरु जाडो बढेसँगै सुन्न थालिएको छ ।
वर्तमान समयमा गाँतीको प्रयोग कम भइसकेको छ । केही दशकअघिसम्म जाडोबाट बच्न देहातमा ‘गाँती’ नै प्रमुख उपक्रमको रुपमा विद्यमान थियो । गाँती, गुदरा, घुर आदि देहाती जीवनशैलीका उपयोगी संसाधन मध्येका प्रमुख उपक्रमहरु हुन् ।
यद्यपि अपवादबाहेक आधुनिक जीवनशैलीको ओतमुनि विलीन हुने क्रम जारी छ । बच्चा मात्र होइन, जाडो छल्नको लागि व्यस्क र वृद्धवृद्धा समेतले ‘गाँती’ र ‘घुर’कोे सहारा लिनुपथ्र्यो ।
देहातका सामान्यजनको लागि पुस र माघको कठ्याङ्ग्रिदो जाडोबाट बच्नग आजजस्तो व्याप्त विद्युतीय संसाधन लगायतको उपलब्धता थिएन । सुत्ने र ओढ्ने सवालमा तराई, गुदरा र कपडाको टुक्राले बनाएको रजाई र परालबाट निर्मित ओछ्यान लगायतका संसाधन भूइँमान्छेको दैनिकीसँग गाँसिएको थियो ।
करिब दुई मीटर सुती कपडा वा मरदानी (धोती) वा घरमा उपलब्ध कपडालाई नै गाँतीको रुपमा उपयोग गरिन्थ्यो । टाउको देखि घु“डासम्म छोप्ने हुनाले गाँतीको उपयोगिता आजको मह“गो र आधुनिक टोपीसहितको ज्याकेटभन्दा कम थिएन ।
पुस महिनाको आगमनसँगै ठण्डीको असर बढ्न थालेको छ । मधेशको प्राकृतिक परिवेश हुस्सुमय हुन थालेको छ । बिहान हुस्सु र कहिलेकाहीँ दिउँसो हल्का घाम लाग्ने भएकोले पुस महिनामा बच्चा, वृद्धवृद्धा र रोगीलाई बढी समस्या हुने गर्दछ ।
जाडोयाममा ठण्डीको प्रकोपबाट बच्नको लागि देहातका मानिसहरुले ‘घुर’ र ‘बोरसी’ को आगो तापेर शरीर न्यानो पार्ने प्राकृतिक निरन्तरता यथावत छ ।
‘घुर’ आगो ताप्ने स्थायी साधन हो भने ‘बोरसी’लाई हिटर जस्तै एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्छ । जाडोयाममा ठण्डीबाट बच्न पराल, उखुको पात, धान/गहँको भूस, गुइँठा आदिको उपयोगिता आजको परिवेशमा समेत देहाती विपन्न वर्गकोे अभिन्न अड्डजस्तै छ ।
जाडोयाममा अपवादबाहेक देहातको प्रत्येक घरमा ‘घुर’को व्यवस्था रहेको पाइन्छ । भूस वा पराल लगायतको चाङमा आगो सल्काइन्छ भने बोरसी सानो आकारको भएकोले दाउराको ससाना टुक्रा र थोरै मात्रामा भुस प्रयोग गरिन्छ ।
प्राकृतिक तापले शरीरलाई न्यानो पार्ने देहाती उपक्रम विद्युतीय उपक्रमभन्दा पनि सस्तो र भरपर्दो संसाधन हो भन्नुपर्दा कुनै अतियुक्ति नहोला । आजको परिवेशमा समेत आर्थिक रुपमा विपन्न परिवारको सहारा स्थानीय स्तरमा उपलब्ध संसाधन नै जाडोबाट बच्ने उपायको रुपमा अवलम्बन गरिरहेको पाइन्छ । महङ्गो र अत्याधुनिक विद्युतीय हिटरजस्ता संसाधन हरेक वर्गको पहँचमा सम्भव नहुने भएकोेले आजको परिवेशमा समेत ‘घुर’ र ‘बोरसी’ जाडो छल्ने संसाधनको रुपमा प्रयोग भइरहेको देख्न सकिन्छ ।
घुर ताप्दै खेतिपातीसम्बन्धी चर्चा मात्र होइन, गाउँ–देहातको विकाससम्बन्धी चर्चाको साथै स्थानीय र राष्ट्रिय स्तरको राजनितिक चर्चा परिचर्चा पनि हुने गर्दछ । जाडोयाममा ‘घुर’को चारैतिरबाट परालको ‘बिठइ’ मा बसेर आगो ताप्ने परम्परा देहातबाहेक अन्यत्र पाउन मुश्किल छ । प्रायः मानिस गम्छाले टाउकोमा ‘मुरेठा’ (पगडी) बा“धेर चिसोबाट टाउको र कानलाई सुरक्षित राख्दछन् ।
‘घुर’को वरिपरी सबै उमेर समूहको मानिस बसेर गाँउघरको समस्या लगायतका बिषयमा कुराकानी गर्ने गर्दछन् । समुहमा बसेर आगो ताप्दै एक–आपसमा कुराकानी गरिरहेका दृश्यहरु गरीमामय देहाती परिदृश्य हो ।
चश्मा निकालेर मरदानी (धोती) को कुनाले आँखाको किंचर सफा गर्दै वृद्धले एक युवकलाई भन्दै थिए, ‘बुरबक कहिं का, अगिया मत ना खोर, बुतानु जाई बबुओ ।’ युवकले भन्यो, ‘पुुआरा त राखी हो गइल बा बाबाजी (हजुरबुबा) ओहिसे नु खोरतानी ।’अर्का एक व्यस्कले भने, “है बुरबक कहीं का, राखी नु उडता, मत ना खोर मरदे, हमर कामरा (कम्बल) राखी से भर गइल हो दादा ।”
देहातमा घुरको आन्नद लिंदै विभिन्न प्रकारका समसामयिक विषयमा कुराकानी हुने गर्दछ, जस्तै कसको बिहे भइसक्यो ? कसको विहे हुनेवाला छ ? कसको छोरा–छोरी कहा“ पढ्दै छ ? कसको नोकरी भयो ? कसले जग्गा किन्यो ? कसले सम्पत्ति बेच्यो ? कसलाई के रोग लाग्यो ? को कुन समस्यामा छ ? घुर ताप्ने क्रममा यस्तै यावत कुराकानी हुने गर्दछ ।
घरको बुजु्रग मानिस बह्म मुहूर्तमा नै उठ्छन् । सर्वप्रथम घुर बाल्छन् । नित्यकर्म आदिबाट निवृत्त भइसकेपछि घुर ताप्छन् । घरका स–साना बच्चाहरु सूर्योदयपश्चात् उठछन् । आँखा मिच्दै घुरसम्म आइपुग्छन् । ‘फोरजी’ र ‘फाइव जी’ को परिवेशमा हुर्केका पिंढीलाई यावत प्रसङ्ग एकादेशको कथाजस्तै लाग्नसक्छ तर व्यस्क तथा वृद्धवृद्धाहरुलाई झल्झल्ती याद आउँदो होला ।
यसपालिको जाडो याममा कोरोनाको असर र आगामी चुनावको परिदृश्य नै ग्रामीण क्षेत्रमा चर्चाको विषय रहन सक्छ भन्नुपर्दा कुनै अतिशयुक्ति नहोला ।
देहातमा प्रयोग हुने ‘गाँती’ राष्ट्रिय राजनीतिक परिवेशमा पनि ठ्याक्कै फीट भएको देखिन्छ । कसैले कसैलाई झुक्याउने प्रकृतिको कार्य गर्दछ भने सो सन्दर्भमा झुक्याउने पात्रले सामान्यजनलाई ‘गाँती’ पहिर्याइ रहेको छ भन्ने देहातमा व्यङ्ग्यात्मक रुपमा प्रयोग गर्ने शब्द हो ।
ओहोदाधारीहरुलाई देहातमा यसरी भन्न थालिएको छ, ‘जनप्रतिनिधि लोग जीत गइल, अब आपन मान्सा पूरा करेमे लागल बा लोग, जनता जाओ खान्तामे, जनता के खूब गाँती पेन्हाइ लोगिन नेताजी ।’ अचेल ओहोदाधारीहरुले आमनागरिकलाई विकासको नाममा ‘गाँती’ पहिर्याइरहेको सन्दर्भ पनि देहाती चर्चामा स्थान पाइरहेको छ ।
घुर तापेर जिऊ न्यानो पार्ने देहातीजन ‘प्राचिन’ र विद्युतीय उपकरण प्रयोग गर्ने मानिस ‘आधुनिक’ हुन भने होइन । समयको गतिसँगै प्राप्त संसाधन मानिसहरु प्रयोग गर्दछन् । प्राचिनकालमा हाम्रा पुर्खाहरु पनि आफ्नो पुर्खाहरुको अनुपातमा आधुनिक नै थिए भन्नुपर्छ ।
भविष्यमा यति बेलाका पुस्ता पनि प्राचिन हुनेछन् र भविष्यका सन्तति अति आधुनिक हुनेछन् । ‘गाँती’ प्रयोग गर्ने मानिस मूर्ख र महड्डो ज्याकेट प्रयोग गर्ने मानिस आधुनिक हुन् भन्ने मनोविज्ञानबाट बाहिर आउनुपर्छ ।
आफ्नो आर्थिक क्षमताअनुसारको संसाधन प्रयोग गर्ने आमजनको भावनामाथि ठेस पुर्याउने काम कसैले पनि गर्नुहँदैन । आधुनिकतालाई नै सबैथोक ठानिरहेका आजका नवपिंढीले ‘घुर’ तापेर जाडो छलेका पुर्खाका सन्तति हुन भन्ने कुरा बिर्सनु हँदैन ।
मानव जीवनशैली एकाएक परिवर्तन भएको होइन । बिस्तारै परिवर्तन भएको हो । देहातको मुख्य परिवेशहरु विलीन हुने अवस्थामा छन् । आफ्नो वेषभूषा, भाषा र संस्कृति लागयतका लोक–परम्पराको निरन्तरतामा नवपिढीले लाज मान्ने मनोविज्ञान उदेकलाग्दो छ । पुरानो साडी र मरदानीको कैयौँ तह सिलेर तयार पारिएको ‘गुदरा’ हाम्रा पुर्खाहरुको लागि सिंहासनभन्दा कुनै कम थिएन ।
हाम्रा पुर्खाहरु साडी र मरदानी लागायतका कपडाले तयार पारेको ‘गुदरा’ जस्तो स्वनिर्मित विस्तारमा गहिरो निद्रा प्राप्त गर्दथे । अत्याधुनिक समाज महङ्गो बिस्तर, आधुनिक परिधान र विलाशी जीवनशैली लगायतका सुखशयलमा जीवन बिताइरहे पनि गहिरो निद्रा र मनोवाञ्छित शान्ति लगायतको सवालमा पुर्खाहरुभन्दा गरिब छन् भन्नुपर्दा कुनै अतिशयुक्ति नहोला ।
गाँती र घुरको सामिप्यतामा हुर्केर जीवन निर्वाह गर्दै आफ्नो सन्ततिलाई हिंड्न सिकाएका आफ्ना पुर्खाहरुको सामान्य दिनचर्या र संस्कार स्मरण गर्दै अघि बढ्नुपर्छ । कठ्याङ्ग्रिदो जाडोमा ज्येष्ठ नागरिक लगायत गरिब, निमुखा र बेसहारा नागरिकलाई शीतलहरबाट जोगाउने उपायको सन्दर्भमा सत्ताधारी जनप्रतिनिधिहरुले कत्र्तव्य निर्वाह गर्नुपर्ने जनस्तरको आवाजलाई मध्यनजर गर्नुपर्ने आवश्यकता छ ।