प्रकाश गुरागाईं
“विदेशमा सजिलो लागेर वा के भएर मलाई इडेन बेड्रे भन्न थाले। मलाई पनि त्यही सहज लाग्दै गयो... हुनलाई म इडेन बेड्रे होइन, अदनबहादुर हुँ, यो संस्था ‘साक्षर’ को संस्थापक फाउन्डर।”
ध्रुवचन्द्र गौतमको उपन्यास ‘चकमन्नमा एकान्त’को ‘क्लाइमेक्स’ यही हो। ‘म’ पात्रले यो क्लाइमेक्सलाई ओ. हेनरीका कथाहरुसँग तुलना गरेको छ।
अनि ती क्लाइमेक्सवाला वाक्यहरु उपन्यासको सबैभन्दा ठूलो रहस्योद्घाटन पनि हुन्। यो रहस्योद्घाटन एकैपटक १४० पृष्ठमा भेटिन्छ। त्यसपछि त श्रृङ्खलाबद्धरुपमा रहस्यहरुको उद्घाटन हुँदै जान्छ। पाठकहरुलाई लेखकको ‘सरप्राइज’।
उपन्यासमा सिर्फ तीन ठाउँको दृश्य छन्ः डेरा, कार्यालय र रेस्टुरेन्ट। ‘एक सहरमा एक कोठा’ ३० वर्षीय अविवाहित युवकको ठेगाना हो। कोठामा ‘छैन’ बाहेक केही छैन। भएको सबैभन्दा महत्वपूर्ण चाहिँ उसको कथा हो, जो उपन्यासको प्रमुख पात्र ‘म’ हो।
युवा छ, त्यसैले कोठामा युवतीहरु आइरहन्छन्। कसैलाई बिहे देखाउने प्रलोभन दिन्छ, कसैलाई त्यो पनि दिनुपर्दैन।
कथाको शुरुदेखि नै हरेक रातको ठीक १ बजे चकमन्न भत्काउँदै ‘साइलेन्सर’ झिकिएको बाइक बेतोडले हुइकिन्छ। कथा त बाइकवालाले पो बुन्दै रहेछ। पाठकले अन्त्यमा एकैपटक मात्र बाइकवालाको प्रेम बुझ्न सक्छन्। त्यो प्रेम कतै अभिव्यक्त छैन। वास्तवमा ती प्रेमिल जोडीको भेट नै उपन्यासमा एकपटक मात्र हुन्छ। त्यहाँ न प्रेमिल गफ छ, न प्रेमिल वातावरण नै। कथा बुन्ने ध्रुवचन्द्र गौतम शैली गज्जबको छ।
बेरोजगार युवकले गैरसरकारी कार्यालयमा जागिर पाउँछ। त्यहाँ तथ्यांक बटुल्ने, विश्लेषण गर्ने, निष्कर्ष निकाल्ने र समाज बदल्ने ‘जिम्मेवारी’ का साथ कर्मचारी काममा खटिइरहन्छन्। देश विकासको ‘जिम्मा’ नै त्यहीँ संस्थालाई छ। त्यसैले काममा जोतिनुपर्छ।