बेलायत र दक्षिण अफ्रिकामा फेला परेको नयाँ प्रकारको कोरोना फ्रान्समा देखिन थाल्याे

बेलायत र दक्षिण अफ्रिकामा रुपान्तरित भएर फेला परेको नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फ्रान्समा देखिन थालेको छ। 

फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार टुअर्स सहरमा नयाँ स्वरूपको कोरोना भाइरसले संक्रमित व्यक्ति फेला परेका हुन्।

यो प्रकारको नयाँ कोरोना संक्रमण फ्रान्समा पहिलो पटक देखिएको बताइन्छ। स्वास्थ्य अधिकारीहरुका अनुसार यही डिसेम्बर २१ मा एक पुरुषमा परीक्षण गर्दा नयाँ प्रकारको भाइरस देखिएको हो।

उनी १९ का दिन बेलायतबाट फ्रान्स फर्किएका थिए। उनमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस यसअघिको भन्दा कढी संक्रामक छ।

ती पुरुष टोर्स शहरका बासिन्दा रहेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बेलायत बस्दै आएका ती फ्रान्सेली व्यक्तिबारे थप जानकारी दिइएको छैन।

संक्रमित व्यक्तिमा कुनै पनि लक्षण नदेखिएको र अहिले उनी सेल्फ आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसको रुपान्तरित स्वरुपको संक्रमण पहिलोपटक गएको सेप्टेम्बरमा इंग्ल्याण्डमा पुष्टि भएको थियो। त्यसकै कारण पछिल्ला दिनहरुमा संक्रमण तीव्र भएको ठानिन्छ।

यता बेलायत र दक्षिण अफ्रिकामा फेला परेका कोरोनाको नयाँ रूप पहिलेका भाइरसभन्दा निकै घातक र संक्रामक रहेको बताइएको छ। जसले वैज्ञानिकमा चिन्ता बढाएको छ। 

बेलायतमा रुपान्तरित कोरोना भाइरसको संक्रमण देखिएपछि विभिन्न देशले यात्रा प्रतिबन्ध लगाएका थिए। फ्रान्सले पनि सीमा बन्द गरेको थियो, तर गएको बुधबारदेखि पुनः खुला गरिएको हो।

प्रकाशित मिति: : 2020-12-26 08:28:00

प्रतिकृया दिनुहोस्