अमेरिकामा क्रिसमसका दिन बिहानै विस्फोट, तीनजना घाइते

अमेरिकाको टेनेसी प्रान्तको न्यासबिल सहरमा क्रिसमसका दिन बिहानै विस्फोट भएको छ।

स्थानीय समय अनुसार शुक्रबार बिहानै ६ बजे पार्क गरि राखिएको भ्यान विस्फोट भएको हाे। विस्फोट परि तीनजना घाइते भएका छन्।

घाइते भएकालाई अस्पताल लगिएको छ। तर उनीहरूको अवस्था गम्भीर नरहेको अनुमान गरिएको छ।

विस्फोट टेलिकम जाइन्ट एटी एण्ड टी को भवन बाहिर भएको हो। सिटी सेन्टरमाथि धुवाँकाे मुस्लाे उडेकाे थियाे।

सुरक्षाकर्मीले गोली प्रहारको घटना नियन्त्रणका लागि प्रयास गरिरहेका थिए। उनीहरुले सोही क्रममा चेतावनी युक्त सन्देश प्रशारण गरिरहेको क्याम्पर भ्यान फेला पारेका हुन्।

त्यसको केही मिनेटपछि नै भ्यान विस्फोट भएको हो। सो भ्यान शुक्रबार नै सो क्षेत्रमा आइपुगेको स्थानीय प्रहरीले जनाएको छ।

प्रहरीका प्रवक्ताले बताएअनुसार बिहान ६ बजेतिर स्थानीयले गाेली पड्केकाे सुनिएकाे भनेर सूचना दिए। 

उनले भने, ‘त्यसपछि बम डिस्पोजल टोली घटनास्थल पुग्दा एउटा शंकास्पद अवस्थामा राखिएको गाडी देखियो। केही समयपछि त्यो विस्फोट भयो।’ 

विस्फोट भएको क्षेत्र नजिकबाट मानव शरीरको सम्भावित अवेषहरु फेला परेको  बताइएकाे छ। तर त्यो अवेष मानवको हो होइन भन्ने यकिन भएको छैन।

अहिले घटनास्थलमा अनुसन्धान टाेलीले अनुसन्धान गरिरहेकाे छ। याे खबर लेख्दासम्म विस्फाेटकाे कारण पत्ता लागेकाे छैन। प्रहरीले छानबिनका लागि केही मानिसहरुसँग सोधपुछ गरेको छ।

विस्फोटका बेला भ्यान भित्र कोही थिए या थिएनन् भन्ने पनि खुलेको छैन।

प्रकाशित मिति: : 2020-12-26 08:08:00

प्रतिकृया दिनुहोस्