कोभिड– १९ का कारण विश्वको आर्थिक अवस्था डामाडोल छ। पैठारीमा निर्भर देशको आर्थिक अवस्था झन दयनीय बन्यो। हाम्रोजस्तो वैदेशिक रेमिट्यान्सका भरमा चल्ने देशको भने निकासी कम हुँदा विदेशी मुद्रा सञ्चित बढेको छ। तर पनि ठूला औद्योगिक राष्ट्रहरू रत्तिभर हरेस नखाई आफ्ना जनताका मन जित्दै पूर्ण जिम्मेवारीपूर्वक प्रस्तुत भई पुरानै लयमा फर्कने अवश्थामा छन्। तर बेलायतलगायत अन्य युरोपिली राष्ट्रहरूमा दोस्रो चरणको महामारीका कारण पुनः लकडाउन सुरु गरिएको छ।
धेरै राष्ट्रमा सरकारले सहयोग र आत्मबल प्रदान गरेका पर्याप्त उदाहरण हाम्रासामु छन्। यस महामारीबाट विश्वभर करिब १७ लाख मानिसको मृत्यु भइसकेको छ। मृत्यु आफैंमा राम्रो होइन तर हाम्रो देश र अन्य देशको तुलनामा यो भिन्न छ। विकसित देशमा कसैको अभिभावक वा संरक्षकको मृत्यु हुँदा त्यस व्यक्तिसँग संरक्षित लोग्ने वा पत्नी माता वा पिता, बालबच्चा अभिभावकविहीन हँुदैनन्, त्यसको संरक्षक स्वतः सरकार हुन्छ। सम्पूर्ण जिम्मा सरकारले नै लिन्छ। त्यसैगरी हाम्रो देशमा बालबच्चा टुहुरा हुन्छन्, मातापिता भोकै मर्छन्, पति र पत्नीको बिचल्ली हुन्छ। तसर्थ त्यो मृत्यु राष्ट्रका लागि एक प्रतिशत पनि होइन तर त्यस परिवारका लागि शतप्रतिशत मृत्यु हो।
चीनको सानो सहरबाट सुरु भएको कोरोना महामारी विश्वभर फैलिन धेरै समय लागेन। कतिले त यो कृत्रिम भाइरस हो सम्म भन्न पछि नपरी चीनलाई आर्थिक नाकाबन्दीसम्म लगाउनुपर्ने धारणा राखे। विश्वभर आर्थिक साम्राज्य फैलाउँदै गरेको चीनको सयौं देशमा अर्बौंका ठूला योजना छन्। ती सबै बन्द गर्नेसम्म धम्की शक्ति राष्ट्रहरूले दिए। कोभिड– १९ को कारणले भएका सम्पूर्ण आर्थिक क्षतिको जिम्मेवारी चीनले नै लिनुपर्छ भन्ने सम्म मात्र होइन, चीनबाट लिएका ऋणसमेत तिर्नुनपर्ने सम्म तर्क नआएका होइनन्।