आयल निगम मात्र होइन, वायुसेवा निगमको भ्रष्टाचारमा पनि राईको नाम, वाइडबडीमा चार अर्ब ३५ करोड भ्रष्टाचार, छानबिन गर्दै अख्तियार

 

केदार दाहाल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस प्रेमकुमार राई नेपाल आयल निगम मात्र होइन, नेपाल वायुसेवा निगमको अनियमिततामा पनि मुछिएका व्यक्ति हुन् । आपूर्तिसचिवको रूपमा राई आयल निगमका अध्यक्ष हुँदा एक अर्ब ६ करोड भ्रष्टाचार भएको थियो । त्यस्तै, उनी पर्यटनसचिवको रूपमा वायुसेवा निगमको अध्यक्ष हुँदा वाइडबडी खरिदमा जोडिएका हुन् । 

वाइडबडीमा चार अर्ब ३५ करोड भ्रष्टाचार भएको भन्दै सार्वजनिक लेखा समितिले अनुसन्धान र कारबाहीका लागि सिफारिस गरेको छ । यो विषयमा अख्तियारले अनुसन्धान गरिरहेको वेला उनै राई अख्तियारको प्रमुख आयुक्तमा सिफारिस भएका छन् । आयल निगमको जग्गा खरिद प्रक्रियालाई भने सरकारको ‘निर्देशन’मा अख्तियारले तामेलीमा राख्ने निर्णय गरेको छ । महालेखाको ५५औँ प्रतिवेदनले पनि जहाज खरिद प्रक्रियामा गम्भीर त्रुटि देखिएकाले छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने विषय उल्लेख गरेको थियो । 

पर्यटनसचिवको रूपमा नेपाल वायुसेवा निगमको अध्यक्ष हुँदा राईले सीधै एयरबससँग होइन, बिचौलिया कम्पनीमार्फत वाइडबडी जहाज किन्ने निर्णय गराएका थिए । निगममा अध्यक्षको रूपमा जहाज किन्ने निर्णय गराएका राई निगमलाई ऋण दिने निर्णय गर्ने वेला भने सञ्चय कोष पुगेका थिए । यसरी ऋण लिने र ऋण दिने निर्णायकमा बसेर राईले अनौठो अभिलेख बनाएका छन् । 

प्रकाशित मिति: : 2020-12-25 11:48:00

प्रतिकृया दिनुहोस्