नारायणप्रसाद पौडेल
भुरुङ जति नाँचे पनि भुँइको भुँइ’ भनेझैँ भयो जति व्यवस्था फेरे पनि अवस्था उही र उस्तै रहँदा । पुरानो परिपाटीलाई परिवर्तन गर्न सक्ने, नयाँ व्यवस्था ल्याउन पनि सक्ने तर अवस्था फेरेर टिकाउन चाहिँ (व्यवस्थापन गर्न) नसक्ने समस्याले पिरोल्यो । आजको समस्या होइन यो, ००७ सालदेखिकै रोगको उकुच पल्टेको हो । त्यो भन्दा पहिलेको राणाशासनमा जे भएको थियो, छाडौँ । नयाँ युगमा प्रवेश गरेपछिको पहिलो अध्यायको शुभ साइतमै मातृकाप्रसाद कोइराला र बीपी कोइरालाबीचको विवादले प्राप्त प्रजातन्त्रको संस्थागत विकास हुन सकेन, गर्न दिएन, दिइएन । ०१७ सालका लागि आधार तयार गरियो, पारियो । त्यसपछिको ३० वर्ष सुखद रहेन । ०४७ सालपछि विवाद अर्को तरिकाले दोहोरियो ।
गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईबीचको विग्रहका रूपमा, ३६ से र ७४ रे का नाममा । गीताध्यायी सन्त नेताको ठट्यौलो शैली तर शान्त स्वभाव, प्रजातन्त्र प्रवद्र्धनप्रतिको, निष्ठा र समर्पणले सघायो, अप्रिय घटना हुन पाएन, रोक्यो, दिइएन । त्यसपछि फेरि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाका बीचमा विवाद चक्र्याे र शाही सरकार आयो, आउने वातावरण बनाइयो । प्रजातान्त्रिक कालमा नेपाली कांग्रेसलाई सताएको त्यो रोग गणतन्त्रपछि कम्युनिस्टमा सरेर अनिष्ट गर्दैछ, बर्बाद पार्दैछ अहिले । नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्षद्वयबीचको विवाद मातृका र बीपी, गिरिजा र भट्टराई, गिरिजा र देउवाको नयाँ संस्करणका रूपमा प्रकट भएको छ ।
पात्र, परिवेश, प्रवृत्ति र समय मात्र फरक परेको होला । अरू फरकपन देखिएन, भेटिएन भन्ने धेरै भए । शक्तिको नसा र नसाको शक्तिको समुचित र समयोचित संयोजन र व्यवस्थापन हुन सकेन । एक अर्कालाई सघाएर सफल हुन दिनभन्दा असफल पार्न सक्रिय रहे सहयात्रीहरू । सौताका रिसले श्रीमान्को अल्पायुको कामना गर्नु आफैँ विधवा बन्नु हो भन्ने नबुझेपछि स्वेताम्बरी हुनैपर्छ । पछि पछुताउनुभन्दा पहिल्यै विचार गर्ने हो कि ? सौभाग्यवती भवः भनेर आशिर्वाद दिनेहरू पनि अलमलमा परेका छन् अहिले ।
सोच्ने कहिले ?
७० वर्षमा सातवटा संविधान ! हरेक १० वर्षमा उथलपुथल र व्यवस्था परिवर्तनका लागि बहस ! संसारमा प्रयोगमा आएर अभ्यास भएका सबैखाले व्यवस्थाको परीक्षण गरिसकेजस्तो छ सैनिक शासन बाहेक । नेपालको चित्र र राजनीतिक चरित्र देखेपछि दुनिया दङ्ग पर्दो
हो ! जति पवित्र प्रणाली भित्र्याए पनि एकदशकमै अपवित्र र असफल बनाउन सक्ने विचित्रको लोकतान्त्रिक शैली देखेर । कुशल कारिगरका हातमा पर्ने हो भने जस्तै बिग्रेको वस्तु पनि सपारेर सदुपयोग गर्छ । दुर्जनका हातमा परेपछि जति राम्रो, बलियो र टिकाउ माल दिए पनि पार्टपुर्जा फुकाल्छ, बिगार्छ, लथालिङ्ग र भताभुङ्ग पार्छ । बिगार्न र भत्काउन चाहिँ जान्ने र सक्ने, बनाउन नसक्ने हुन् त हाम्रा राज्य र राजनीतिक दलका सञ्चालकहरू ? आरोप लगाउनेहरू भन्दैछन् – ००७ सालको दिल्ली सम्झौता हुनुपूर्व, ०४६ सालको परिवर्तन हुनुपूर्व र ०६२÷६३ सालको संयुक्त जनआन्दोलन हुनुपूर्वको अवस्थामा पु¥याइँदैछ ।