अन्जु शर्माको सोख हो अचार बनाउनु। खानुभन्दा पनि बनाएर अरूलाई बाँड्न पाउँदा झनै रमाउँछिन्। उनको अचारप्रतिको लगाव चालीस वर्ष अगाडिदेखि हो। टन्न अचार बट्टाभरि हालेर साथीभाइलाई दिन्थिन्।
पछिल्ला वर्ष सामाजिक सञ्जालमा जोडिँदै गएपछि आफूले बनाएका अचारको फोटो फेसबुकमा राख्न थालिन्। हेर्दै मुखमा पानी आउने अचारका फोटो देखेर धेरैले अन्जुको तारिफ गर्थे। अझ कतिले उनलाई अचार बेच्न सुझावै दिए।
उनलाई अचार बनाएर बेच्नै फुर्सद त कहाँ थियो र! अन्जु करिब आठ वर्षदेखि लैन्चोरस्थित सिवेक अस्पतालमा कार्यकारी निर्देशकका रूपमा काम गरिरहेकी छन्। उनको दिन अस्पतालमै बित्छ।
तर एकदिन डल्ले खुर्सानी अचारले उनलाई ऊर्जा दियो। डल्लेको अचारलाई 'बिजुली' नाम दिएर उनले फेसबुकमा फोटो राखिन्। 'ए बिजुलीको तार तार तार...' लेख्दै रमाइलो क्याप्सन पनि दिइन्।
फोटो राखेको केहीबेरमै अचारबारे सोध्नेको ओइरो लाग्यो। अधिकांशले किन्ने इच्छा देखाए।
'यदि मानिसहरू मैले बनाएको अचार किन्न चाहन्छन् भने किन नबेच्ने त' भन्ने सोच उनलाई आयो।
'अचार बेच्ने आइडिया मलाई मन परेको थियो। तर व्यापारबारे केही ज्ञान र अनुभव नभएकाले गर्ने वा नगर्ने निर्णय लिन सकेकी थिइनँ,' अन्जुले भनिन्, 'फेरि यता काममा पनि जानु पर्ने। एक्लै बनाएर बेच्न सम्भव थिएन। यसमा अघि बढ्न मलाई सहयोग गर्ने हात जरुरी थियो।'