के अब कांग्रेसको एजेण्डा हिन्दु राष्ट्र नै हो?

थाहा खबर

काठमाडौँ

सन्तोष अधिकारी 

 

 ‘अबको निर्वाचनमा हाम्रो पार्टीले बहुमत ल्यायो भने भोलि हामी जनमतसंग्रह गर्न तयार हुनुपर्छ, जनताको माग पनि छ। हिन्दु राष्ट्र भनेको राजतन्त्र फर्काउने हैन, राजतन्त्र फर्किँदैन’ गत मंसिर २९ गते सोमबार विराटनगरमा पुगेर कोइराला निवासबाट कांग्रेस महामन्त्री डा.शशाँक कोइरालाले भनेका थिए।

 

 

उनै कोइराला आफूलाई नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको निर्विकल्प उम्मेदवार रहेको बताउँछन्। कांग्रेसभित्र हिन्दु राष्ट्रको पक्ष र विपक्षमा बहस भए पनि अब कांग्रेसको नेतृत्व गर्नेहरूले कुन एजेण्डा बोक्छ भन्ने विषयलाई महत्वका साथ हेरिएको छ। 

पछिल्लो समय देशैभरि राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा प्रदर्शन भइरहेको बेला महामन्त्री कोइरालाको अभिव्यक्तिले कांग्रेसभित्र तरंग उत्पन्न भएको छ। यता १४ औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवारको दाबी गर्ने अर्का नेता प्रकाशमान सिंहले कांग्रेसको एजेण्डा हिन्दु राष्ट्र नभएको बताएका छन्।

महामन्त्री कोइरालाले हिन्दु राष्ट्रको पक्षमा जनमत संग्रह गर्नुपर्ने बताए कै भोलीपल्ट (मंसिर ३०) मा पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले यस्तो बताएका हुन्। 

नेता सिंहले महामन्त्री कोइरालालाई इंकित गर्दै पार्टीका कोही नेताले हिन्दु राष्ट्रको पक्षमा अभिव्यक्ति दिँदैमा पार्टीको लाइन, एजेण्डा हुन नसक्ने बताए। 
‘पार्टीका नेताले आफ्नो व्यक्तिगत धारणा दिँदैमा पार्टीको लाइन बन्न सक्दैन। हामी आफैंले ल्याएको परिवर्तनविरुद्व जान सक्दैनौं’ गत मंगलबार प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले भने। 

प्रकाशित मिति: : 2020-12-17 14:38:00

प्रतिकृया दिनुहोस्