पक्राउ पुर्जी जारी गरिएकाे चिनी मिल सञ्चालक खोज्दै प्रहरी

बिएल संवाददाता

काठमाडाै‌ं

उखु किसानलाई बक्यौता रकम नदिने ४ मिल सञ्चालकलाई पक्राउ गर्नको लागि पक्राउ पुर्जी जारी भएको छ।

काठमाडौंमा आन्दोलनरत उखु किसानलाई सम्बोधन गर्दै हिजो (मंगलवार) गृहमन्त्रालयको संमन्वयमा उद्योग मन्त्री, कृषी मन्त्री लगायतको छलफल पछि कृषकलाई बक्यौता नदिने ४ चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्देशन दिएको थियो।

लगत्तै नवलपरासी, सर्लाही र रौतहट मातहतका जिल्लाले किसानबाट उजुरी लिएर आज (बुधवार) पक्राउ पुर्जी जारी गरिएकाे प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुवँरले जानकारी दिए।

‘बक्यौता नतिर्ने मिल सञ्चालकलाई कानूनी दायरामा ल्याएर कारवाही प्रकृया अगाडि बढाउँछौं,’ उनले भने,‘ उनीहरुलाई ठगीको मुद्धामा कानूनी प्रकृया अगाडि बढाउँछौं।’

अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज प्रालि सर्लाही, इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि, लुम्बिनी सुगर मिल पश्चिम नवलपरासी तथा श्रीराम सुगर मिल रौतहटका सञ्चालकलाई कारवाही गर्न भनेको छ । 

अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल हुन् । त्यस्तै श्रीराम सुगर मिल हितेश गोल्छा र विशाल अग्रवाल तथा लुम्बिनी सुगर मिल श्रेया अग्रवालको हो । 

गृहको निर्देशनअनुसार सुगर मिलका सञ्चालकमाथि ठगीमा मुद्दा चले ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना तथा ठगिएको रकम असुलउपर गर्नुपर्नेछ ।

प्रकाशित मिति: : 2020-12-16 18:39:00

प्रतिकृया दिनुहोस्