हाम्रो मूल समस्या नेतृत्व छनोटमा छ

राष्ट्रिय झन्डाले जहाँ पनि नेपाल र नेपालीलाई प्रतिनिधित्व गरिराखेको हुन्छ, तर यसको महत्व र विज्ञान कतिलाई थाहा होला ? यो अरू देशको झन्डा जस्तो होइन, यसको इतिहास खोज्न हाम्रा हजारौँ वर्ष पुराना मन्दिर र सम्पदाहरूको गहिरो अध्ययन चाहिन्छ । राष्ट्रिय झन्डाको हाम्रो देशभन्दा पनि निकै पुरानो इतिहास छ । 

अधिकांश मानिसले जीवनभर आफ्नो शरीर नै सूक्ष्म रूपमा नियालेका हुँदैनन् । तपाईंले यो लेख पढ्दै गर्दा आफ्नो श्वासप्रश्वास हेर्नुभयो भने एउटा नाक बढी खुलेको र अर्को कम खुलेको पाउनुहुन्छ । घरी देब्रेले बढी काम गर्छ, घरी दाहिनेले । यही श्वासप्रश्वासलाई सन्तुलित र अधीनस्थ राख्नका लागि पनि निकै ठूलो मिहिनेत र तपस्या चाहिन्छ । हाम्रो राष्ट्रिय झन्डाले सिकाउने र प्रतिनिधित्व गर्ने अनेक विज्ञानमध्ये यो पनि एक हो । यस लेखमा यिनै विषयलाई आधुनिक सन्दर्भमा विस्तारपूर्वक राख्ने प्रयास गरिएको छ ।

सदियौँदेखि स्वतन्त्र र आर्थिक तथा प्राकृतिक रूपमा सम्पन्न देश नेपाल विश्वलाई सही दिशाबोध गर्न सक्ने क्षमता भएका योगीहरूको योगभूमि हो । यो देश वा क्षेत्रमा विश्वका चिरपरिचित विश्वविद्यालय थिए । यो भूमि विभिन्न कालखण्डमा प्रतिष्ठित ऋषि र योगीहरूको साधनाको केन्द्रका रूपमा रहँदै आएको छ, जसको विश्वबजारमा निकै ठूलो माग थियो । नेपालमा करिब ९४ प्रतिशतभन्दा बढी जनसंख्या यही विज्ञानमा टेकेको सनातन आस्थाको छहारीमा बस्दै आएको ठूलो प्रमाण सनातनदेखिको विज्ञानमा आधारित राष्ट्रिय झन्डा नै हो ।

हठ योगका जन्मदाता गुरु मत्स्येन्द्रनाथ (जसको आराधना काठमाडौंका जात्राहरूमा गरिन्छ), उनका शिष्य गोरखनाथ, ऋषि पतञ्जलि, स्वयं भगवान् शिवले रूप धारण गरी स्थापित रहेको पशुपतिनाथ र पछिल्लो समय गौतम बुद्धले जन्म लिएको देवभूमि हो, नेपाल । प्राचीन कालमा नेपालमा राजा–महाराजा वा प्रधानमन्त्रीहरूको पनि गुरु वा सल्लाहकार यिनै विश्वविख्यात वैज्ञानिक तथा प्रोफेसर अर्थात् ऋषि तथा योगी थिए । ती पूजनीय थिए । कृष्ण मन्दिर र त्यसको वरपरको जलस्रोतको व्यवस्थापन, पशुपतिनाथ वा न्यातपोलका संरचना, यस्तै प्राचीन (अरनिकोजस्तै) प्राविधिक वा इन्जिनियरले बनाएका थिए । हजारौँ वर्षसम्म हाम्रो हिमालय क्षेत्रमा विश्वको अर्थतन्त्र केन्द्रित थियो । तर, जम्मा २०० देखि ३०० वर्ष पुरानो इतिहास बोकेको पश्चिमा विज्ञान र अर्थतन्त्रको प्रकोप कति शक्तिशाली भएको छ भन्ने त कोरोना भाइरस, जलवायु परिवर्तन तथा डरलाग्दो जीव तथा वनस्पति प्रजातिको नाशले जगजाहेर गर्छ । विश्वले प्रकृतिसँग जुध्ने विज्ञान होइन, प्रकृतिलाई आत्मसात् गर्ने हाम्रै योगीहरूको विज्ञान अनुसरण गर्नुको विकल्प छैन।

योग विद्या स्वयं भगवान् शिवबाट विभिन्न ऋषिहरू हुँदै आएको मानिन्छ । यसै क्रममा गुरु मत्स्येन्द्रनाथले यस विद्यालाई ग्रहण गरी हठ योगको रूपमा स्थापित गरे । यस विद्याले नेपाल तथा एसियाका अन्य देशहरूमा प्रभाव परेको भएता पनि हाल नेपालको झन्डाले मात्र योग वा विज्ञानको प्रतिनिधित्व गरिरहेको छ ।

प्रकाशित मिति: : 2020-12-15 06:37:00

प्रतिकृया दिनुहोस्