अपाङ्गता भएका मानिसले पनि अवसर पाउने हो भने केही गर्न सक्छन् भन्ने गतिलो उदाहरण बनेका छन्, मोरङको उर्लाबारीका दृष्टिविहीन राई दम्पती राजकुमार र इन्दिरा।
उर्लाबारी– ५ का राजकुमार राई र उनकी श्रीमती इन्दिरा राई दुवै जना दृष्टिविहीन हुन्। ४३ वर्षीय राजकुमार र ४६ वर्षीया इन्दिरा सबलाङ्गहरूलाई चुनौती दिँदै मुढा बुनेर उदाहरणीय व्यवसायी बनेका छन्।
२०६२ सालमा प्लान नेपालको सहयोगमा नेत्रहीन संघ, मोरङले तालिम दिएपछि उनीहरूले व्यावसायिक रूपमा मुढा बनाउने काम गर्दै आएका छन्।
मुढा बुन्नका लागि बाँस काटिरहेका उनीहरूले यही पेशाबाट दुःखसुख खान पुगेको बताए। राजकुमार बाँस काटेर मुढाका लागि आवश्यक कच्चा पदार्थ तयार गर्छन् र त्यसलाई इन्दिराले आकार दिने काम गर्ने गरेका छन्।
बजारबाट मुडोरी खरीद गरी यी दम्पतीहरुले मुढा तयार गर्ने गर्दछन्। इन्दिरा घरको काम सकेर पति राजकुमारलाई मुढा बन्न साथ दिन्छिन्। उनीहरूले मासिक रूपमा १० हजार बराबरका मुढा बेच्ने गरेका छन्।
यी दम्पतीले हप्तामा १०/१२ वटा मुढा बनाउने गरेका छन्। उनीहरु मुढा मात्र नभई कुचोसमेत बनाएर बिक्री गरी दैनिक जीविकोपार्जन गरिरहेका छन्।
उनीहरुका दुई छोरी १३ बर्षीया इनिस्ता र ६ वर्षकी स्नीता छन्। इनिस्ता सेन्टइस्टेफेन्स बोर्डिङ स्कुलमा पढ्छिन् भने स्नीता लिटिल एन्जल युकेजीमा पढ्छिन्।
दुबै बोर्डिङ स्कुलले उनीहरुलाई निःशुल्क पढाउँदै आएका छन्। ठूली छोरी इनिस्ताको सहारामा शनिबार गाउँ–गाउँमा मुढा र कुचो बेच्न जानेगरेको इन्दिरा बताउँछिन्। एक थान मुढा २ सय ५० रुपैयाँमा बिक्री हुन्छ। ‘सबै जनाले छोरीको अनुहार हेरेर भए पनि मुढा किनेर सहयोग गर्दिनुहुन्छ’, इन्दिराले भनिन्, ‘मुढा बनाएर आएको पैसाले दुःखसुख नुन भुटन पुग्छ।’
राजकुमारले ८ वर्षको उमेरसम्म आँखा देखे पनि पछि आँखा देख्न छोडेको बताए। ‘उमेर बढ्दै जाँदा मेरा आँखाले काम गरेनन्। के गर्नु, समयमै उपचार गरेको भए संसार देख्न पाइन्थ्यो कि ?’, उनले दुःख प्रकट गर्दै भने, ‘२०५६ सालमा संखुवासभाको खाँदबारीबाट मधेश झरियो। त्यतिबेला अस्पतालमा देखाउँदा धेरै ढिलो भइसकेको रहेछ।’
इन्दिरा राईको व्यथा भने अर्कै छ। उनको १ वर्षकै उमेरमा आँखाको ज्योति गुमेको थियोे। उनीहरुले विवाहपछि पनि धेरै अस्पतालमा धाए। तर, श्रीमान र श्रीमतीको एकअर्को मुहार र छोरीहरु हेर्ने सपना भने अधुरो रह्यो। डाक्टरले जति नै उपचार गराए पनि आँखा देख्न नसक्ने बताएको राजकुमारले बताए।
२०६२ सालमा प्लान नेपालको सहयोगमा नेत्रहीन संघ, मोरङले बेलबारीमा दिएको मुढा बुन्ने तालिममा राजकुमार र इन्दिराको भेट भयो। तालिमकै क्रममा उनीहरुको चिनजान भयो। दूवैजना दृष्टिविहीन भएका कारण एकअर्कालाई हेर्ने चाहना पूरा नभएपनि उनीहरुको मन मिल्दै गयो।
सोही तालिममा उनीहरुको प्रेमको टुसा पलाउँदै थियो। तर, उनीहरुको प्रेम नफस्टाउँदै तालिम सम्पन्न भयो।
२०६३ सालमा पथरी शनिश्चरेमा दृष्टिविहीनहरुलाई सङ्गीतको कक्षा सुरु भयो। संयोगबश उनीहरुको फेरि भेट भयो। दुवैले आ–आफ्ना दुःखमात्र बिसाएनन्, एकअर्कालाई जीवन नै साथी रोजे। त्यसपछि उनीहरु वैवाहिक सम्बन्धमा बाँधिए।
दृष्टिविहीन राई दम्पती वैवाहिक जीवन सुरुवात गरेपछि उर्लाबारी–५ मा आफन्तको जग्गामा घामपानी छेक्ने सानो झुपडी बनाएर बसेका थिए।
त्यही क्रममा विभिन्न सञ्चार माध्यमले दृष्टिविहीन राई दम्पतिको अवस्थाका बारेमा समाचार प्रकाशन गरेपछि देश÷विदेशबाट घर निर्माणका लागि सहयोग जुट्यो।
समाजसेवी शोभितमाया तामाङ, संचारकर्मी घनश्याम भण्डारी,सरोज बस्नेत लगायतको अग्रसरतामा जस्ताको छाना लगाएको पक्की घर निर्माण गरियो। कठिन तरिकाले बसोबास गर्दै आएका यी दम्पतीलाई घर निर्माणपछि राहत मिल्यो।
दृष्टिविहीन राई दम्पतीले आफ्नी छोरीलाई डाक्टर बनाउने सपना देखेका छन्। ठूली छोरी इनिस्ताले भनेको स्मरण गर्दै इन्दिराले भनिन्, ‘ममी म डाक्टर बनेर हामीजस्तै गरिब दुखीको सेवा गर्छु।’
‘छोरीलाई डाक्टर पढाउने हाम्रो आर्थिक अवस्था त छैन’ उनले भनिन्, ‘राम्रो पढी भने सबैले डाक्टर पढाउन सहयोग गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ।’
राजकुमारले भने, ‘छोरीलाई आँखाको डाक्टर बनाउने धोको छ। हामी त देख्दैनौँ, छोरीहरुले दृष्टिविहीनहरुको ज्योति फर्काउन सकुन्।’
दृष्टिविहीन राई दम्पतीले मासिक रुपमा ६/६ सय भता पाउँदै आएका छन्। उनीहरुलाई सरकारले निलो परिचयपत्र प्रदान गरेको छ। निलो परिचयपत्रलाई ‘ख’ वर्गमा समेटिएको छ।
अति अशक्त अपाङ्गता, दृष्टिविहीन, बहिरा,सहायक सामग्रीहरु प्रयोग गर्ने अपाङ्गता भएका व्यक्तिलाई यस्तो परिचयपत्र दिइन्छ। ‘ख’ वर्गका अपाङ्गहरूलाई सामाजिक सुरक्षा भत्तास्वरुप मासिक ६ सय रुपैयाँ उपलब्ध गराइन्छ।
सरकारले दृष्टिविहीनहरुलाई जीविकोपार्जनका लागि सहयोग गर्नुपर्ने राजकुमारको धारणा छ। कसैको सहारा नपाएका दृष्टिविहीनको अवस्था ज्यादै नाजुक रहेको उल्लेख गर्दै उनले भने, ‘धेरै दुःखले परिवार चलाइरहेका छौँ।’
राजकुमारले बताए, ‘रातो कार्ड पाएका छैनौँ, हामीभन्दा सवलाङ्गहरुले पनि पाएको सुनिन्छ। जहाँ पनि राजनीति छ, भेदभाव हजुर ! हाम्रो लागि कसले पो पहल गरिदिन्छ र ?’