उनीहरू न इन्डियन थिए, न नेपाली...

सेतोपाटी

काठमाडौँ

गोकर्णप्रसाद उपाध्याय

आफ्नै आँगनमा नाच्न, मातृभूमिमा बाँच्न कसलाई मन नलाग्दो हो? आफ्नै पिँढीमा थकाइ मार्न, दुःखसुखले दुई छाक टार्न कसलाई इच्छा नहुँदो हो।

तर, गरिबी, अभाव र अज्ञानताले ती सबै इच्छा मार्दो रहेछ। आँगन, थातथलो र पिँढीबाट टाढा सार्दो रहेछ। देशका सीमा पनि तार्दो रहेछ। भारत वा कुनै खाडी मुलुक पुग्न मजबुर पार्दो रहेछ।

यसरी मजबुर हुने लाखौं नेपाली मजदुर छन्। अरू देश जानेको त हिसाब छ, भारत जानेको छैन। सबभन्दा दयनीय अवस्था तिनकै छ।

अछामबाट भारत (बम्बई) जानेको संख्या ठूलो छ तर यकिन संख्या न स्थानीय तहसँग छ, न प्रदेशसँग। संघीय सरकारसँग पनि छैन। भारत जाने अछामीको संख्यामात्र होइन, दुःख पनि ठूलै छन्। तर, लुकाउनु परेको छ गुपचुप। उता चौकिदार यता आएर 'वाचम्यान' बन्नु परेको छ। उता भाँडा माझे पनि यता आएर 'घरखाता' भन्नु परेको छ। न कमाइ आकर्षक, न इज्जत।

तर पनि बम्बई नै सहारा छ, बेसहाराहरूको। 'बम्बई' ले अछामी बोलीचालीमा समग्र भारतकै प्रतिनिधित्व गर्छ। फर्किनेहरू भन्छन्, 'बम्बईमा सब चिज यहाँसे बेहतर छ।'

फर्किएका एक हुन् अछाम घुघुरकोटका ५१ वर्षीय कुले आउजी। १४–१५ को उमेरदेखि बम्बई आउजाउ छ। भन्छन्, 'बाबु अल्पायुमै गुमाएँ। सौतेनी आमाले खान लाउन दिएन। पढ्ने पढाउने कुरै भएन। कमाइ खाने जमिन रहेन। भागेर बम्बई पुगेँ।'

बम्बई त्यस्तो नगरी हो जहाँ खान नपाएर कोही मर्दैन। उनलाई पनि मर्न दिएन एउटा चाहा (चिया) दूकानले। रोजाना १० रूपैयाँ, मासिक तीन सय। चार वर्ष बिताए।

तनखाह बढी खोज्दै जाँदा छ सय पाउने गरी होटलको 'घरखाता'मा लागे। अर्थात भाँडावर्तन माझ्ने, टेबल साफ गर्ने काम। चार-पाँच वर्ष त्यहीँ बिताए। तर न घर बनाउन सके, न खातामा पैसा थुपार्न। जम्मा पारेको दस-बाह्र हजार लिएर गाउँ फर्किए। बिहे गरे। केही दिनमै नवविवाहितालाई रूवाएर एक्लै फर्किनु पर्‍यो।

बम्बई वापस जाँदा साविकको नोकरी थिएन। 'बोरिबली टेसन पास'मा आठ सय पाउने गरी ज्वेलरी दूकानमा काम पाए। जति बढी ग्राहकलाई बोलाउन र रिझाउन सक्यो, सेठ त्यति बढी खुसी हुने। वर्षौं ग्राहकलाई बोलाइरहे तर, मातृभूमिले बोलाएको पत्तै पाएनन्।

प्रकाशित मिति: : 2020-12-13 15:48:00

प्रतिकृया दिनुहोस्