देशव्यापी प्रदर्शनमा भौतिक दुरि राख्न तथा मास्क प्रयोग गर्न देउवाकाे आग्रह

बिएल संवाददाता

काठमाडाै‌ं

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार हुने देशव्यापी प्रदर्शनमा कोरोना कहरलाई ख्याल गर्दै मास्क प्रयोग गर्न र भौतिक दूरी कायम गर्न अपील गरेका छन्। 

आइतबार एक अपिल जारी गर्दै सभापति देउवाले भनेका छन्, ‘कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दुरि राख्न तथा मास्क प्रयोग गर्न गराउन प्रभावकारी स्वयंसेवाका लागि म तरुण साथीहरुलाई आग्रह गर्दछु।’ 

प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आएको, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेर भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लगेकाले सडकमा आउनु परेको देउवाको भनाइ छ। 

देउवाले भनेका छन्, ‘सरकारप्रतिको वितृष्णा मुलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा हो। नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो। अतः नेपाली कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ। त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन।’

जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को नहुन सक्ने उनले बताएका छन्।  

‘ट्रान्सपरेन्सी ईन्टरनेसनलको पछिल्लो प्रतिवेदनले एसियामै सबैभन्दा बढी भ्रष्टाचार भइरहेको देशका रूपमा नेपाललाई चित्रित गर्दा हरेक नेपालीलाई लज्जित तुल्याएको छ। कोरोनाबाट जनताको रक्षा गर्ने गम्भीर दृष्टि र सुविचारित कार्ययोजना नहुंदा सयौंको मृत्यु भएको छ भने हरेक नेपालीले मृत्युको सन्त्रास भोग्नु परेको छ। कोरोनाकालिन नीति, दृष्टिकोण र ठोस कार्यक्रम नहुंदा मुलुकको अर्थतन्त्र झनै कमजोर बन्न पुगेको छ। चौतर्फी संकटबाट मुलुकलाई निकासको मार्गमा लग्न गम्भीर भएर कार्य गर्नुपर्ने सरकार सत्ताको द्वन्द्वमा जकडिएको छ। यस्तो परिदृश्यमा जनतामा प्रश्न, आक्रोश र वितृष्णा बढ्नु विल्कुलै स्वभाविक छ’, देउवाले भनेका छन्। 

यस्तै उनले कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं विद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसँग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शून्यता हुन नस्कने उनले बताएका छन्।

मुलुकलाई हरेक चुनौतीको घडीमा निकास र नेतृत्व दिएको दल काँग्रेस भएको भन्दै देउवाले प्रतिपक्षमा रहेको समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहीतामा पार्टी गम्भीर रहेको बताएका छन्।  भोलिको सांकेतिक प्रदर्शनबाट थप शक्ति हासिल गर्दै आगामी संसदमा काँग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुने देउवाले बताएका छन्।

प्रकाशित मिति: : 2020-12-13 11:49:00

प्रतिकृया दिनुहोस्