झनक प्रसाद धमला
शिक्षा मानव जीवनको महत्वपूर्ण आर्जन हो, जसले मानिसको व्यक्तिगत तथा सामाजिक जीवन सार्थक बनाउँछ। समाज विकाससँगै शिक्षाको पनि विकास हुँदै जान्छ। ज्ञान र अनुभव सहितको शिक्षाको उपयोगबाट आजको चमत्कारिक विश्व निमार्ण सम्भव भएको छ।
आज विश्वका जति पनि मुलुक समृद्ध बने, सबै असल शिक्षा नीति र नीति अनुरुपका संस्कारबाट मात्र बनेका हुन भने समस्यामा रुमलिएका मुलुकहरूको कारण भनेको उपयुक्त शिक्षा अभाव नै हो।
नेपालमा औपचारिक शिक्षा र प्रमाण पत्रले स्थान पाएसँगै योग्यता प्रणालीको विकास भएको हो। ऋषिमुनिको पालामा आश्रममा सिकिने शिक्षा होस या जंगबहादुरले शुरू गरेका औपचारिक विद्यालयदेखि हालसम्मका सबै विद्यालयमा दिइने शिक्षाले बालबालिकालाई जीवनोपयोगी सीप प्रदान गरोस् भन्ने उद्धेश्य हुन्छ।
विगतमा शुद्धसँग पढ्न,व्यवहारिक तमसुकहरू लेख्न, पात्रो हेर्ने लगायत जे आवश्यक छ : त्यो सिकेर दक्ष बन्ने र बनाउने चलन थियो। हालको शिक्षाले जीवनोपयोगी सीप प्रदान गर्दै स्वरोजगार र स्वावलम्बी बनाओस् भन्ने लक्ष्य राखिन्छ।
देशमा रहेको अथाह स्रोत र साधन एकातर्फ उपयोग विहिन भएको छ भने अर्कोतर्फ मानवशक्ति यता न उता भएर दिन गुजारिरहेको छ। प्रमाणपत्र र रोजगार बिचको तादम्यता पटक्कै देखिँदैन। पढे-लेखेकाहरू राजनीति गर्नेहरूको अन्धभक्त भएर चाकडीमा जुटेका छन्। असल सामाजिक व्यवहार हराउँदै जानुका साथै काम गर्ने संस्कार हट्दै गएको छ। स्वावलम्बीपन र स्वाभिमान गुम्दै गएको छ। कुलत, दुर्व्यसन तथा सामाजिक अपराध बढेर गएको छ।